भक्तपुर । भक्तपुरस्थित मालपोत कार्यालयका दुई कर्मचारी साढे २४ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउत छन्। उनीहरूलाई मोही तल्सिङको मुद्दा मिलाउने प्रयोजनमा सेवाग्रहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित १४ रोपनी ४ आना जग्गा मोही र तल्सिङको लगत कट्टा गरी मोहीको नाममा जग्गाधनी प्रमाणपत्र (पूर्जा) बनाइदिने प्रलोभनमा सेवाग्रहीसँग साढे २४ लाख रुपैयाँ घुस मागिएको थियो। पक्राउसँगै आचार्य र राउतको साथबाट घुस रकमसहित २ थान मोबाइल फोन पनि बरामद गरिएको अख्तियारले जनाएको छ। उनीहरूविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।








प्रतिक्रिया