ललितपुर
ललितपुरका एक दर्जनभन्दा बढी क्षेत्रमा आज रातिबाट तीन रातसम्म टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुने भएको छ। नेपाल टेलिकमको पाटन दूरसञ्चार कार्यालयले सूचना जारी गर्दै सेवा अवरुद्ध हुने क्षेत्र र समयबारे जानकारी गराएको हो।
टेलिकमका अनुसार आज राति (असार ३२ गते) राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म मच्छिन्द्रबहाल, लगनखेल, ताल्छिखेल, पाटन औद्योगिक क्षेत्र, र सातदोबाटो चक्रपथभित्र सेवा अवरुद्ध हुने छ।
त्यस्तै, भोलि (साउन १ गते) सोही समयमा च्यासल, चाकुपाट, ज्वागल र पुल्चोक क्षेत्रमा इन्टरनेट, टेलिफोन र टिभी सेवा बन्द हुने छ।
साउन २ गते भने जाउलाखेल, एकान्तकुना, खरिबोट, मनिमण्डल, सानेपा र धोबिघाट क्षेत्रमा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ।
सेवा अवरुद्धको कारण भने स्पष्ट रूपमा उल्लेख गरिएको छैन। तर, निर्धारित मर्मत तथा प्रणाली स्तरोन्नतिको प्रक्रिया अन्तर्गत सेवा अवरुद्ध हुने अनुमान गरिएको छ।
टेलिकमले तोकिएको समयपछि पनि सेवा सुचारु नभएमा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ। सेवाग्राहीलाई असहज हुने सम्भावनालाई ध्यानमा राख्दै वैकल्पिक योजना तयार गर्नसमेत टेलिकमले आग्रह गरेको छ।









प्रतिक्रिया