२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएको रायो सागमा अत्यधिक विषादी



काठमाडौं । मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा दोलखाबाट ल्याइएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार परीक्षण गरिएका नमुनामध्ये रायो सागमा ८०.९५९० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादीको मात्रा पाइएको हो।

केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी बजारका १७ वटा पसलबाट संकलित १७ प्रकारका तरकारी तथा फलफूल परीक्षण गरेको थियो। परीक्षणको क्रममा अत्यधिक विषादीयुक्त रायो साग उपभोगका लागि पूर्ण रूपमा अयोग्य भएको समितिले जनाएको छ।

यो पहिलो घटना भने होइन। यसअघि २४ असारमा भक्तपुरबाट ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत विषादी भेटिएको थियो भने २६ असारमा काभ्रेबाट आएको घिउ सिमीमा ८६.८४ प्रतिशत विषादीको मात्रा पाइएको थियो।

सरकारले तोकेको मापदण्डअनुसार विषादीको अवशेष ३५ प्रतिशतभन्दा कम भएमा मात्र तरकारी उपभोग गर्न योग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतबीच भए केही दिन राखेर उपभोग गर्न सकिने भनिएको छ। तर ४५ प्रतिशतभन्दा बढी विषादी भएमा ती तरकारी र फलफूल पूर्णतः अयोग्य मानिन्छन्।

विशेषज्ञहरूका अनुसार यस्तो अत्यधिक विषादी सेवनले दीर्घकालीन स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ। उपभोक्ताहरूले बजारबाट तरकारी किन्दा सावधानी अपनाउनुपर्ने र सरकार तथा नियामक निकायले अझ कडाइका साथ अनुगमन गर्नुपर्ने आवाज उठ्न थालेको छ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बुधबार  १ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।