भक्तपुर । भक्तपुर मध्यपुर थिमी नगरपालिका–८ बोडे सिन्टीटारमा बिहीबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका दुई किशोरी दिदीबहिनीको शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट पठाइएको छ।
मृतकहरूमा सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएका १५ वर्षीया मेनुका कँडेल र १३ वर्षीया सिर्जना कँडेल रहेका छन्। उनीहरू बिहीबार बिहान करिब ६ः४५ बजेतिर चक्रधर प्रजापतिको घरको भुइँतलाको डेरामा फलामको डन्डीमा नाइलनको डोरी प्रयोग गरी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।
घटनास्थलको मुचुल्का उठाएर बिहीबार राति ११ बजेपछि आफन्तहरूको उपस्थितिमा दुवै जनाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए।
दुवै किशोरी भारतको मुम्बईस्थित मीरा भाइन्दर क्षेत्रबाट करिब तीन साताअघि हराएको परिवारले जनाएको छ। किशोरीहरूका बाबुआमा वासुदेव र उमा कँडेलले “आमालाई बैंगलोर जाँदैछौं” भन्ने म्यासेज छोडेर हराएको खुलाएका थिए।
उनीहरूले मुम्बईस्थित एक होटलमा काम गर्न बाध्य बनाइएको आरोपसमेत सार्वजनिक रूपमा लगाएका छन्। तीन दिनअघि मात्र सिगास अनलाइन टेलिभिजनसँगको अन्तर्वार्तामा उनीहरूले होटल साहुले सीसीटीभी नहुने ठाउँमा छोरीहरूलाई काम लगाएको आरोप लगाएका थिए।
मृत भेटिएका किशोरीहरू १५ दिनअघि मात्र भक्तपुरको बोडे स्थित उक्त घरमा डेरा लिएर बसेका थिए। प्रहरीका अनुसार उनीहरूले घरबेटीलाई आफूहरू कलेज पढ्न आएका हौं भनेर भनेका थिए।
दुवै जनाको मृत्यु आत्महत्या हो वा हत्या भन्ने यकिन प्रमाण हालसम्म नखुलेको प्रहरी स्रोतले जनाएको छ। पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने बताइएको छ।








प्रतिक्रिया