२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चार दशकपछि पशुपति क्षेत्रमा पुनः देखियो लाखे नाचको रौनक



काठमाडौँ । पशुपति क्षेत्रका टोलटोलमा चार दशकपछि ऐतिहासिक लाखे नाचको रौनक फर्किएको छ। झण्डै ४५ वर्षपछि लोप हुँदै गएको लाखे झ्यालिन्छ नाच यस वर्ष श्रावण शुक्ल पञ्चमीदेखि पुनः सुरु गरिएको हो। पशुपति क्षेत्र विकास कोषअन्तर्गत अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलका अनुसार स्थानीयवासीहरूको सक्रिय सहभागिता र सहयोगले यो जात्रालाई पुनर्जीवन दिन सकिएको हो। जयबागेश्वरी मन्दिर, देवपत्तनबाट सुरु गरिएको लाखे नाचलाई ऐतिहासिक महत्वको पौराणिक जात्राका रूपमा पुनःस्थापित गरिएको छ।

लाखे नाचको पुनरुत्थानमा कोषका साथै स्थानीय सांस्कृतिक संस्था ‘दथु त्वाः बाजं खलः’ र सम्पदा प्रेमीहरूको ठूलो भूमिका रहेको स्थानीय श्रीकृष्ण डङ्गोलले जानकारी दिए। यो नाच श्रावण शुक्ल पञ्चमीदेखि भाद्र कृष्ण सप्तमीसम्म १७ दिनसम्म सञ्चालन हुने जनाइएको छ।

जात्राको शुभारम्भ जयबागेश्वरीबाट पशुपतिनाथ मूल मन्दिरसम्म लाखे नचाएर गरिएको थियो। लाखे नाच घरघरमा लैजाने व्यवस्था मिलाइएको छ, जसमा स्थानीय युवा–युवतीको उल्लेख्य सहभागिता देखिएको छ।

पशुपति क्षेत्रमा लाखे नाच प्रदर्शन गर्ने परम्परा मृतकको आत्माको चिरशान्ति, भूतप्रेत नलागोस् र अशुभ शक्तिको नाश होस् भन्ने कामनासहित गरिन्छ। यो संस्कृतिलाई लोप हुन नदिने स्थानीयको प्रतिबद्धता रहेको आयोजक संस्था, कोष तथा स्थानीयवासीहरूले जनाएका छन्।

लाखे जात्रासँगै पशुपति क्षेत्रमा अन्य परम्परागत जात्राहरू पनि क्रमशः सञ्चालन गरिने जनाइएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार  ९ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।