काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई आमरण अनशनका क्रममा अस्वस्थ भएपछि काठमाडौंको वीर अस्पतालमा भर्ना भएका छन्। उनी माइतीघर मण्डलामा आफ्ना ७ बुँदे माग राख्दै केही दिनदेखि आमरण अनशनमा बसेका थिए।
अनशनकै क्रममा उनलाई प्रेसर कम हुनु, चिनी घट्नु र चक्कर लाग्ने जस्ता स्वास्थ्य समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको हो। चिकित्सकले स्वास्थ्य अवस्था जटिल हुन सक्ने भन्दै उनलाई अस्पतालबाट डिस्चार्ज गर्न नमानेका छन्। तर, भट्टराईले आफ्नो स्वास्थ्यको जिम्मेवारी आफूले लिने कागज गरेर डिस्चार्ज हुने तयारी गरेका छन्।
भट्टराई फेरि माइतीघर फर्केर अनशन जारी राख्ने तयारीमा छन्। उनी बुधबारदेखि सरकार गम्भीर नभएको भन्दै आमरण अनशनमा बसेका हुन्।
उनका ७ बुँदे मागमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि ठोस कानुन बनाउने, सरकारी कार्यालयमा बाँस तथा अन्य कच्चा पदार्थ प्रयोग गर्न बिल्डिङ कोड तथा नमूना मापदण्ड तयार पार्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गर्ने उद्योगीहरूबाट स्थानीय तहले अतिरिक्त कर उठाउन सक्ने कानुनी व्यवस्था गरिनुपर्ने लगायतका विषय समेटिएका छन्।
उनको अवस्था बुझ्न मानवअधिकारकर्मीहरूले बिहान अस्पतालमा भेटेका थिए भने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल पनि वीर अस्पताल पुग्ने तयारीमा छन्। भट्टराईको स्वास्थ्य अवस्था प्रति चासो बढ्दै गएको छ।








प्रतिक्रिया