काठमाडौं । कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
अघिल्लो मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राजीनामा दिएपछि रिक्त रहेको पदमा बानियाँ कांग्रेस र एमालेको संयुक्त समर्थनसहित मुख्यमन्त्री बनेका हुन्। सोमबार कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनमा उनले मुख्यमन्त्रीमा दाबी गरेका थिए।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पनि बानियाँको समर्थनमा हस्ताक्षर गरेका थिए।
नवनियुक्त मुख्यमन्त्री बानियाँको शपथग्रहण कार्यक्रम मंगलबार अपराह्न ४ बजे आयोजना गरिने छ। शपथग्रहण पछि प्रदेशमा अन्य विभागीय मन्त्रीहरूको नियुक्ति प्रक्रिया अघि बढ्ने बताइएको छ।
बानियाँले बागमती प्रदेशमा स्थिर सरकार स्थापना गर्दै विकास र समृद्धिमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।








प्रतिक्रिया