काठमाडौं । १९ वर्षअघि सुनसरीमा भएको हत्या घटनामा संलग्न भइ जन्मकैदको सजाय तोकिएका सन्दिप धामीलाई प्रहरीले काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको छ।
सुनसरीको बराह नगरपालिका–३ भरौलका ३८ वर्षीय धामी साउन २० गते सामाखुसीमा मिस्त्रीको रूपमा काम गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार, धामी २०६३ सालमा सुनसरीका नरेन्द्र मोक्तानको हत्या घटनामा संलग्न थिए।
अनुसार, धामीसहित ८ जनाको समूहले रातको समयमा मोक्तानको घरमा गई उनलाई हत्या गरी शवलाई नालामा फालेका थिए। त्यसपछि उनीहरू फरार भएका थिए।
१९ वर्षपछि पक्राउ परेका धामीले प्रहरीबाट लुक्नकै लागि झुटो नाम र ठेगाना प्रयोग गर्दै आएका थिए। उनले ननुलाल धामीलाई बुवा देखाएर ‘रुपलाल धामी’ नामबाट नागरिकता लिएको भेटिएको छ। साथै, उनी वास्तविक ठेगाना लुकाएर बस्दै आएका थिए।
हाल उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चक्रघट्टी, सुनसरी पठाइएको एसपी आचार्यले जानकारी दिएका छन्।








प्रतिक्रिया