काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–११ नेपालटारमा आज (साउन २३ गते) करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार फाइबर वर्ल्ड कम्युनिकेशन प्रालिमा काम गर्दै आएका धादिङको गल्छी गाउँपालिका–८ स्थायी घर भई हाल तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीमा बस्दै आएका २४ वर्षीय राजन भुजेलको करेन्ट लागेर मृत्यु भएको हो।
उनले इन्टरनेटको तार तान्ने क्रममा नेपालटारस्थित विद्युत पोलमा चढ्दा करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई तत्कालै ग्रिनसिटी अस्पताल, वसुन्धरा पुर्याइएको भए पनि उपचारका क्रममा उनको ज्यान गएको प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी काठमाडौं महानगरपालिका–२० कोहिटीमा डेरा गरी बस्दै आएकी दाङ गढवा गाउँपालिका–६ घर भएकी ३० वर्षीया सुनिता योगीको कोठाबाट झन्डै एक लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। चोरीमा ल्यापटप एक थान, मोबाइल एक थान र नगदसमेत रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्ति हाल फरार छन् र उनीहरूको खोजी भइरहेको छ। साथै, घटनासम्बन्धी आवश्यक अनुसन्धान पनि जारी छ।








प्रतिक्रिया