२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला रहने



काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज ढंगले दर्शन गर्न सकिने व्यवस्था मिलाएको छ । कोषले तीजका दिनको व्यवस्थाबारे ११ बुँदे चरण सार्वजनिक गर्दै पशुपति मन्दिरमा चारै ढोकाबाट प्रवेश निर्गमन गर्ने व्यवस्था गरेको जनाएको छ ।

कोषका अनुसार भक्तजनले गौरीघाट,उमाकुण्ड,दक्षिणामूर्ति,रुद्रगाडेश्वर,वासुकी हुँदै उत्तरढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट निस्कने र कैलाश दक्षिणतर्फको जुत्ता चप्पल कक्षबाट जुत्ता–चप्पल लिन सक्नेछन् ।

मित्रपार्क,जयवागेश्वरी,पाचागणेश,भिमसेनस्थान,भुवनेश्वरी,शंकराचार्य मठ हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट प्रवेश गरी मूलढोकाबाट निस्कने र शंकराचार्य मठ दक्षिणतर्फको जुत्ता चप्पल कक्ष प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

त्यस्तै, पिंगलास्थान,चारशिवालय,पञ्चदेवल,बज्रघर हुँदै दक्षिण ढोकाबाट प्रवेश गरी दक्षिण ढोकाबाटै निस्कने र पञ्चदेवल पूर्वतर्फ अस्थायी जुत्ता चप्पल कक्ष प्रयोग गर्न सकिनेछ ।

यस्तै, तिलगङ्गा,राम मन्दिर हुँदै बागमती पूर्व किनारबाट आर्यघाट नजिकैको पुल तरेर मन्दिर प्रवेश गर्ने भक्तजनले पूर्व ढोकाबाट प्रवेश र निर्गमन गर्न सक्ने तथा आर्यघाट नजिकैको पुलसँगैको अस्थायी जुत्ता चप्पल कक्ष प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

भक्तजनले बिहान ३ बजेदेखि नै दर्शन गर्न सक्नेछन् । दर्शनका क्रममा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, आवश्यकताअनुसार नेपाली सेना तथा सादा पोसाकका सुरक्षाकर्मी समेत खटाइने कोषले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ४ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।