२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर मितेरी सहकारी प्रकरणः कम्बोडियाबाट पक्राउ परेका भण्डारीसहित २ जना कारागार चलान



काठमाडौं । मितेरी सहकारीको रकम अपचलनको आरोप लागेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्याको सोमबारको इजलासले ज्योतिबहादुर भण्डारी र उनका सहयोगी भनिएका सुवास खत्रीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । अर्का प्रतिवादी सुरेश अधिकारी भने सात लाख धरौटीमा रिहा भएका छन् । उनीहरूलाई कम्बोडियाबाट पक्राउ गरेर ल्याइएको थियो ।

सहकारीकी तत्कालीन महाप्रबन्धक तथा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ, सहकारीका अध्यक्ष ८१ वर्षीय कुम्भराज राई, खोटाङका विजयकुमार राई, बागलुङका प्रतिम अधिकारी र सिन्धुपाल्चोकका अर्जुन अरामलाई पनि प्रतिवादी बनाइए पनि उनीहरू फरार छन् ।

उनीहरुविरुद्ध ठगी, लिखतसम्बन्धी कसुर, अभौतिक मुद्राको कसुर, राष्ट्र बैंक अन्तर्गतको कसुर, संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

यो समूहले सहकारीको १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ ठगी गरेको भन्दै सोही अनुसारको बिगो मागदाबी गरिएको छ । त्यसैगरी सहकारीको रकम तिर्ने भन्दै उल्टै रकम हाल्न लगाएर ३ करोड ४२ लाख ८२ हजार ४२० रुपैयाँ ठगी गरेकाले उक्त रकम बराबरको बिगो पनि माग दाबी गरिएको थियो ।

६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ९ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको पाइएको भन्दै राष्ट्र बैंक अन्तर्गतको कसुरमा पनि मुद्दा चलाइएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  २ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।