काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको सुमो गाडी सिन्धुलीमा दुर्घटना हुँदा चार जना घाइते भएका छन्। मंगलबार बिहान साढे १० बजे मध्यपहाडी लोकमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका–१, कुडुलेमा ना.१ ज ५०७४ नम्बरको टाटासुमो गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दुर्घटनामा दोलखाको भिमेश्वर नगरपालिका–७ का ४७ वर्षीय ज्ञानबहादुर खड्का, पाल्पाको रामपुर नगरपालिका–३ का ३२ वर्षीय सचिन मल्ल, ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ की २५ वर्षीया करिश्मा बस्नेत र निरुता बस्नेत घाइते भएका छन्।
घाइतेलाई प्रारम्भिक उपचारका लागि सिन्धुलीको ग्वालटारस्थित भुवनेश्वरी स्वास्थ्य चौकीमा लगिएको थियो। उनीहरूलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त सुमोमा ६ जना सवार रहेका थिए। चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।








प्रतिक्रिया