२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इन्द्रजात्राः रथ तान्नेको पाँच लाखसम्मको बीमा



काठमाडौं । यसवर्षको इन्द्रजात्रामा रथ तान्नेलगायतका भूमिकामा रहने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्मको बीमा गरिने भएको छ । गुठी संस्थानद्वारा यसवर्षको इन्द्रजात्राको तयारीसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पर्वमा अहोरात्र खटिनेका लागि पहिलो पटक यस्तो व्यवस्था गरिएको जानकारी दिइयो ।

राष्ट्रप्रमुख सहभागी हुने र देशका प्रमुखपर्वमध्ये पर्ने इन्द्रजात्रामा हनुमानढोका आसपासका मानन्धरलगायत विभिन्न समुदायका झण्डै ८०० जना संलग्न रहने गर्छन् । ‘तीमध्ये पर्व सुरु भएदेखि सम्पन्न नभएसम्म अहोरात्र खटिने करिब १०० जनालाई एकदेखि पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्न लागेका हौँ’, संस्थानका कार्यकारी प्रमुख शैलेशराज कुवरले भने ।

यसवर्षको इन्द्रजात्रा भदौ ९ गते लिङ्गो काटेर सुरु भई २६ गते बेलुका १०:३० बजे समापन हुँदैछ । यसका लागि आवश्यक सम्पूर्ण खर्च व्यवस्थापन, जनशक्ति परिचालन र विभिन्न निकायबीच समन्वय गुठी संस्थानले गरिरहेको छ । जात्रा सम्पन्न गर्न हनुमानढोका दरबार कार्यालय, काठमाडौं महानगर, नेपाली सेनादेखि नेपाल विद्युत् प्राधिकरणसम्मका निकाय संलग्न छन् ।

यही भदौ ९ गते सूर्यविनायक नगरपालिकाको चित्तपोल वनबाट लिङ्गालाको रुख काटेर सुरु भएको यसवर्षको जात्रामा १५ गते लिङ्गोलाई हनुमानढोका पुर्‍याउने काम भएको छ ।  १९ गते ध्वजापताकासहितको लिङ्गो उठाएपछि राजधानीमा इन्द्रजात्रा सुरु हुन्छन् ।

त्यसैगरी २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा भएपछि २६ गते राति १०:३० बजे इन्द्रध्वज पतन गरी जात्राको औपचारिक समापन गरिन्छ । जात्रा अवधिभर आकाश भैरवको मूर्तिलाई खटमा राखी पूजा गर्ने, महाकाली, एरावत नाचहरु, त्रैलोक्य नारायण मन्दिरमा दशावतार नाटक देखाउने, दहचोकमा मेला भर्ने र स्वेतभैरवको मुखमा जडित नलिबाट बगाइने मदिरालाई प्रसादका रूपमा ग्रहण गर्नेजस्ता क्रियाकलाप हुन्छन्।

यसका साथै इन्द्रचोक, किलागल र नरदेवीमा इन्द्रको मूर्ति प्रदर्शन तथा पूजा गर्ने र नेवार समुदायमा पाहुनापासालाई निम्ता गरी ‘समय बजि’ (चिउरा, राँगाको छोइलासहितको र कालो भटमाससहितको परिकार)खुवाउने काम हुन्छ । हनुमानढोकाको गद्दी बैठकमा पुगी राष्ट्रप्रमुखले जात्रा अवलोकन गर्ने परम्परा आन्तिम मल्लराजा जयप्रकाश मल्लको पालादेखि चल्दै आएकोहो ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  १० : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।