२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हनुमानढोकाको दशैंघरमा राखियो जमरा



काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान ९ बजेर १३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो ।

सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ पनि गरेको थियो । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौं छरिन्छ । आज छरिएको जौंको अंकुरणलाई जमरा भन्ने गरिन्छ । दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ ।

विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिन्छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै पञ्चाङ्ग निर्णायक विकास समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको हो ।

घटस्थापना गरिएको स्थानमा दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ।बडादशैंको मुख्य दिन देवी दुर्गाको प्रसादको रुपमा दशमीको दिन त्यही जमरा र टीका लगाइन्छ । यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ । टीकाको शुभसाइत ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ९ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।