२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भीमफेदी कारागारबाट भागेका कैदीबन्दीहरू आफैँ फर्किन थाले



काठमाडौं । जेनजी प्रदर्शनका क्रममा कारागारबाट फरार भएकामध्ये ६८ जना कैदीबन्दी आफैँ मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागार फर्केका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म २५९ जना कैदीबन्दी कारागार फर्केका छन् ।

भीमफेदी कारागारबाट भागेकामध्ये आज बिहानसम्म १९८ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । प्रमुख पौडेलका अनुसार भागेकामध्ये ६८ जना कैदीबन्दी आफैँ कारागारको सम्पर्कमा आएका छन् भने बाँकी सबैलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका हुन् ।

गत भदौ २४ गते राति १ बजेतिर भीमफेदी कारागारको पर्खाल भत्काएर ४४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजी गर्ने क्रममा भीमफेदी कारागारबाट फरार १९८ र अन्य कारागारबाट फरार ६२ जना गरी २५९ जना कैदीबन्दी कारागार फर्किएको कारागार प्रमुख पौडेलले बताए ।

कारागारको तीन वटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (क) ब्लकबाट १८० गरी ४४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीहरूको खोजीका क्रममा सुरक्षाकर्मीहरूले विभिन्न स्थानबाट कैदीबन्दीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए । कारागारबाट भागेका २४२ जना कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  २ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।