२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरमा हाइ मास्ट लाइट, ६२ वटामध्ये १२ वटा भइसक्यो जडान



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न स्थानमा ६२ वटा हाइ मास्ट लाइट (अत्यधिक उज्यालो दिने विद्युतीय बत्ती) जडान गर्ने भएको छ । उज्यालो महानगर योजना अन्तर्गत महानगरपालिकाले करिब १० करोडको लागतमा हाइ मास्ट लाइट जडान गर्न लागेको मेयर बालेन साहले जानकारी दिए ।

उनका अनुसार हालसम्म १२ वटा लाइट जडान भएर बल्न थालिसकेको र दशैंअघि नै बाँकी सबै लाइट जडान गरिसक्ने योजना छ । यी लाइटहरू कहाँकहाँ जडान गर्न लागिएको भन्ने मेयर साहले खुलाएका छैनन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर साहले विगत तीन वर्षदेखि रोकिएको उज्यालो महानगर योजना अब अघि बढाउन लागिएको उल्लेख गरेका छन् ।

यस्तै अघि आर्थिक वर्षमा जडान गरिएका सोलारमा आधारित सडक बत्तीलाई विद्युतीय बत्तीले विस्थापित गरिसकिएको उनले बताए । मेयर साहले करिब ८५ करोडको स्ट्रिट लाइट (सडक बत्ती) खरिद तथा जडानका लागि तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

उक्त परियोजनाले पूर्णता पाएपछि काठमाडौं महानगर रात्रिकालीन समयमा पनि पूर्ण उज्यालो रहने उनको भनाइ छ । हाइ मास्ट लाइट भन्नाले अग्लो पोल वा टावरमा राखिने अत्यधिक उज्यालो दिने विद्युतीय बत्ती हो । यो रंगशालाहरूमा जडान गरिने फ्लड लाइट सरह नै हो ।

यो प्राय: २० देखि ५० मिटर अग्लो पोलमा जडान गरिन्छ । एउटै पोलमा धेरै उज्यालो दिने लाइटहरू जडान गरिएको हुन्छ ।यस्ता लाइटलाई विमानस्थल, धेरै भीडभाड हुने चोक, चौतारा, औद्योगिक क्षेत्र, राजमार्ग, रंगशालाहरूमा प्रयोग गर्ने गरिन्छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ८ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।