२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरमा हाइ मास्ट लाइट, ६२ वटामध्ये १२ वटा भइसक्यो जडान



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न स्थानमा ६२ वटा हाइ मास्ट लाइट (अत्यधिक उज्यालो दिने विद्युतीय बत्ती) जडान गर्ने भएको छ । उज्यालो महानगर योजना अन्तर्गत महानगरपालिकाले करिब १० करोडको लागतमा हाइ मास्ट लाइट जडान गर्न लागेको मेयर बालेन साहले जानकारी दिए ।

उनका अनुसार हालसम्म १२ वटा लाइट जडान भएर बल्न थालिसकेको र दशैंअघि नै बाँकी सबै लाइट जडान गरिसक्ने योजना छ । यी लाइटहरू कहाँकहाँ जडान गर्न लागिएको भन्ने मेयर साहले खुलाएका छैनन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर साहले विगत तीन वर्षदेखि रोकिएको उज्यालो महानगर योजना अब अघि बढाउन लागिएको उल्लेख गरेका छन् ।

यस्तै अघि आर्थिक वर्षमा जडान गरिएका सोलारमा आधारित सडक बत्तीलाई विद्युतीय बत्तीले विस्थापित गरिसकिएको उनले बताए । मेयर साहले करिब ८५ करोडको स्ट्रिट लाइट (सडक बत्ती) खरिद तथा जडानका लागि तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

उक्त परियोजनाले पूर्णता पाएपछि काठमाडौं महानगर रात्रिकालीन समयमा पनि पूर्ण उज्यालो रहने उनको भनाइ छ । हाइ मास्ट लाइट भन्नाले अग्लो पोल वा टावरमा राखिने अत्यधिक उज्यालो दिने विद्युतीय बत्ती हो । यो रंगशालाहरूमा जडान गरिने फ्लड लाइट सरह नै हो ।

यो प्राय: २० देखि ५० मिटर अग्लो पोलमा जडान गरिन्छ । एउटै पोलमा धेरै उज्यालो दिने लाइटहरू जडान गरिएको हुन्छ ।यस्ता लाइटलाई विमानस्थल, धेरै भीडभाड हुने चोक, चौतारा, औद्योगिक क्षेत्र, राजमार्ग, रंगशालाहरूमा प्रयोग गर्ने गरिन्छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ८ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।