२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


युवकको अपहरणपछि हत्या : आठजना प्रहरी नियन्त्रणमा



 

थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिम प्राप्त कुकुरसमेत मगाइएको छ

सिरहा
गोलबजार नगरपालिका १३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्तिका आफन्त र छिमेकसहित आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । बालकको शव गाउँ नजिकै फेला परेकाले परिवार वा छिमेकी नै संलग्न हुनसक्ने आशङ्का गरिएको छ ।

“हाल अनुसन्धान जारी रहेकाले नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन”, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक अनन्तराम शर्माले भने,“दोषीलाई चाँडै कानुनी दायरामा ल्याइनेछ । घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिम प्राप्त कुकुरसमेत मगाइएको छ ।”

उनका अनुसार आज बिहान अभिषेक महतोको शव हातखुट्टा बाँधिएको अवस्थामा घरदेखि करिब एक सय मिटरपूर्व आँपको बगैँचामा फेला परेको थियो ।

परिवारका अनुसार अभिषेक आइतबार राति करिब ८ बजेबाट बेपत्ता भएका थिए । रातभरि खोजतलास गर्दा पनि फेला नपरेपछि सोमबार बिहान अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा फिरौती मागिएको म्यासेज आएको थियो । त्यसपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।

आज बिहान शव फेला परेपछि परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ८ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।