२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चट्याङ लाग्दा बालिकाको निधन, दुई जना घाइते



गुल्मी
गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको निधन भएको छ ।
मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिएका छन् ।

उनका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली विक घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको जनाउँदै सारूले यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको बताए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त वलीको नेतृत्वमा टोली आज बिहानै घटनास्थल पुगिसकेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ८ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।