२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिंहदरबार आगजनीमा काठमाडौँ महानगरको कमजोरीबारे वडाध्यक्षहरूले उठाए प्रश्न



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा वडाध्यक्षहरूले भदौ २४ गते भएको आगजनीका घटनामा महानगरले समयमै दमकल परिचालन गर्न नसकेको विषयमा गम्भीर प्रश्न उठाएका छन् ।

बैठकमा २३ र २४ गतेका घटनाबारे छलफलका लागि कुनै एजेन्डा नराखिएको भन्दै वडाध्यक्षहरूले आपत्ति जनाए । वडा नं. ७ का वडाध्यक्ष विमल कुमार होडाले यति ठूलो राष्ट्रिय क्षतिको प्रसंग बैठकमा नउठाइएकोप्रति असन्तुष्टि जनाउँदै भने, ‘देशमा यत्रो घटना भयो, तर बैठकमा कुनै पनि एजेन्डा छैन । न मृतकलाई श्रद्धाञ्जली भनियो, न विध्वंसको भर्त्सना गरियो । यत्रो सम्पदा ध्वस्त भएकोप्रति हामीले आपत्ति जनाउनुपर्छ कि पर्दैन ?’

त्यसैगरी वडा नं. २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले पनि भदौ २३ र २४ का घटनाको समीक्षा हुनुपर्ने बताउँदै खेद प्रस्ताव समेत पेस गरे । उनले भने, ‘देशभर क्षति भए पनि काठमाडौँमा प्रभाव बढी रह्यो । धेरै सम्पदा जलेर खरानी हुँदा हामी टुलुटुलु हेरेर बस्न बाध्य भयौँ । यो हत्या, हिंसा, लुटपाट र आगजनीप्रति हामीले खेद व्यक्त गर्नैपर्छ ।’

बैठकमा अर्का सदस्य श्रेष्ठले सिंहदरबार जलेर खरानी हुँदा ‘रुन मन लागेको’ भन्दै त्यसको पुनर्निर्माणको जिम्मा काठमाडौँ महानगरपालिकाले लिनुपर्ने प्रस्ताव गरे । उनले दमकल परिचालन ढिलो भएको गुनासो गर्दै भने, ‘रेकर्ड अनुसार दमकल समयमा निस्केको देखिए पनि ठुलो क्षति भइसकेपछि मात्रै पुगेको हो । छिमेकी महानगरको दमकलले आगो निभाएको सुन्दा दुःख लाग्छ ।’

वडाध्यक्षहरूको सो प्रश्नका जवाफमा महानगर प्रहरीका एसपी तथा विपद् व्यवस्थापन समितिका संयोजक विष्णु प्रसाद जोशीले दमकल परिचालनमा अथक प्रयास गरिएको बताए । उनका अनुसार विभिन्न अवरोधका कारण दमकलले समयमा पहुँच गर्न नसकेको हो ।

बैठकमा सहभागी वडाध्यक्षहरूले आगामी दिनमा विपद् व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शुक्रबार  १ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।