२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नुवाकोटको ककनीमा भीषण आगलागी, दुई घर जलेर नष्ट



नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–१ जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीबाट नगद, गरगहना, अन्नबाली, लत्ताकपडा र भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (प्रनाउ) विक्रम लामाले जानकारी दिए। उनका अनुसार आगलागी बलराम बलामीको घरबाट सुरु भई छेउको घरमा समेत फैलिएको थियो।

‘विद्युत् गडबडीका कारण लागेको आगलागीमा करिब एक करोड रुपैयाँ बराबरको धनसम्पत्ति क्षति भएको छ,’ प्रनाउ लामाले भने। ‘आगलागीबाट नगद १० लाख, करिब २५ लाख रुपैयाँ बराबरको सुनचाँदीका गरगहना, १८ लाख रुपैयाँ बराबरको अन्नबाली र भाँडावर्तनसहित ढुंगामाटोका दुई घर पूर्ण रूपमा ध्वस्त भएका छन्।’

उनका अनुसार स्थानीयवासी र सुरक्षाकर्मीको समयमैको प्रयासका कारण मानवीय र पशुचौपाय क्षति हुनबाट जोगिएको छ।

घरबारविहीन बनेका पीडित परिवारलाई ककनी गाउँपालिकाले तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था मिलाएको छ। साथै, जिल्ला प्रशासन कार्यालयले नगद राहत उपलब्ध गराउने तयारी गरेको छ भने रेडक्रस नुवाकोट शाखामार्फत गैह्रखाद्य (बन्दोबस्ती) सामग्री वितरणको सिफारिस गरिएको छ।

प्रहरीका अनुसार विद्युत् सर्ट भएका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, मंगलबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।