काठमाडौं । काठमाडौंको स्वयम्भूबाट पक्राउ परेका चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिका घरकी २२ वर्षीया रोजिना सुनारको साथबाट प्रहरीले कुल १ करोड १० लाख ७० हजार रुपैयाँ बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, पक्राउ परेका दुबै व्यक्तिबाट यसअघि कात्तिक ६ गते ६९ लाख ८५ हजार रुपैयाँ बरामद गरिएको थियो। थप अनुसन्धानका क्रममा उनीहरूको डेराबाट अतिरिक्त ४० लाख रुपैयाँ फेला परेको हो।
पक्राउ परेका व्यक्तिको स्वयम्भू सानो भर्याङस्थित सरिता महर्जनको घरमा भाडामा लिएको कोठाबाट सुनका गहनासमेत बरामद गरिएको छ। बरामद गरिएको सामानमा २ वटा नेकलेस, २ जोडी झुम्का, ४ वटा बाला, ३ वटा औँठी र १ वटा शिरबन्दी रहेका छन्। साथै, आईफोन र म्याकबुक पनि प्रहरीले कब्जामा लिएको छ।
एसपी भट्टराईका अनुसार, आरोपीहरुमाथि हुन्डीसम्बन्धी कसुरमा ८ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ। अनुसन्धान प्रहरी वृत्त स्वयम्भूले गर्दै आएको छ।








प्रतिक्रिया