काठमाडौं । काठमाडौंको राष्ट्रिय नाचघर अगाडिको सडक पेटीमा पैदल हिँडिरहेका एक व्यक्तिमाथि कुटपिट गरी नगद र सुनको सिक्री लुट्ने घटनामा संलग्न तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार घटना असोज ४ गते बिहान करिब ३ बजेतिर भएको हो। केही व्यक्तिहरूले ती व्यक्तिलाई कुटपिट गर्दै साथमा रहेको नगद, दुई तोलाको सुनको सिक्री र मोबाइल लुटेर फरार भएका थिए।
घटनापछि अनुसन्धान थालेको प्रहरीले मिति असोज ७ गते बिहान करिब २:३० बजे चन्द्रागिरीस्थित संचयकोष नजिकैबाट तीन जनालाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूमा मकवानपुर हेटौंडा घर भई चन्द्रागिरी–५ बस्ने २१ वर्षीय अर्जुन श्रेष्ठ, झापा झिलझिले घर भई काठमाडौं पुरानो नैकाप बस्ने २० वर्षीया सुस्मिता महर्जन (सिर्जना राई) र रामेछाप घर भई डल्लु बस्ने २२ वर्षीया बिनिता मगर रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट लुटिएको वस्तुहरूमध्ये सुनको जस्तो देखिने सिक्री (तौल २३.३० ग्राम), रेडमी कम्पनीको मोबाइल फोन र नगद रू. २,२३५ बरामद गरेको जनाएको छ। प्रहरीले उनीहरूविरुद्ध आवश्यक अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक (प्र.उ.) पवनकुमार भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।








प्रतिक्रिया