काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुर डिभिजन वन कार्यालयका दशौँ तहका अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। श्रेष्ठविरुद्ध १ करोड ४३ लाख १८ हजार ९ सय ३७ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाउँदै सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार, श्रेष्ठले सरकारी सेवामा प्रवेश गरेको २०४८ साल असार २६ देखि २०८० फागुन १६ सम्मको अवधिमा २ करोड १६ लाख ८५ हजार ५ सय ५७ रुपैयाँ आम्दानी गरेका थिए। तर, सोही अवधिमा उनको व्यय ३ करोड ६० लाख ४ हजार ४ सय ९५ रुपैयाँ पुगेको पाइएको छ। कुल आयभन्दा व्यय १ करोड ४३ लाख १८ हजार ९ सय ३७ रुपैयाँ बढी भएको र त्यसको स्रोत पुष्टि गर्न नसकिएको अख्तियारले जनाएको छ।
अख्तियारको विज्ञप्तिमा भनिएको छ कि, “प्रतिवादीले राष्ट्रसेवक पदमा बहाली भएपश्चात् वार्षिक सम्पत्ति विवरण फारममा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेका पाइएको छ। यस अनुसार निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) अनुसार कैद र जरिवाना गरी लुकाई राखिएको सम्पत्ति जफत गर्न तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति असुल गर्न माग गरिएको छ।”
त्यसैगरी, श्रेष्ठले आफ्नो पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना बरुवाल र सञ्चालक रहेको फरेष्ट एन्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रा.लि., भक्तपुरको नाममा स्रोत नखुल्ने सम्पत्ति लगानी गरेको उल्लेख छ। अख्तियारले यी व्यक्तिहरूलाई पनि प्रतिवादी कायम गर्दै संबन्धित सम्पत्ति जफत गर्ने प्रावधान माग गरेको छ।
अख्तियारको यस कदमले सार्वजनिक सेवामा भ्रष्टाचार नियन्त्रण र सरकारी पदको दुरुपयोग रोक्न कडा संदेश दिएको बताइएको छ।








प्रतिक्रिया