२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना : चालकको जलेर मृत्यु, सहचालक गम्भीर



काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ स्थित कोदारी भिरमा बुधबार बिहान टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, बा ५ ख ४०७२ नम्बरको टिपर आज बिहान करिब ४ः३० बजे अनियन्त्रित भई करिब १५० मिटर तल भिरमा खसेको थियो। खसेको केहीबेरमै टिपरमा आगलागी हुने क्रममा चालक जलेर मृत्यु भएको प्रहरीको प्रारम्भिक भनाइ छ।

मृतक चालक मण्डनदेउपुर नगरपालिका–७, झगारपुरका २८ वर्षीय किसिम राई हुन्। उनको शव चालकको सिटमै स्टेरिङमुनि जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका सहचालक सोही स्थानका २२ वर्षीय विक्रम राईलाई उद्धार गरी धुलिखेल अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका अनुसार उनको शरीरका विभिन्न भाग जलेको छ र अवस्था गम्भीर रहेको छ।

घटनाको जानकारी मिल्नेबित्तिकै प्रहरी चौकी देउपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइतेको उद्धार र प्रारम्भिक कारबाहीपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाँचखालबाट प्रहरी निरीक्षक प्रशान्त तामाङको नेतृत्वमा अतिरिक्त टोली खटिएको जनाएको छ।

मृतकको शव मुचुल्का गरी पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बुधबार  १ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।