२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा प्लाष्टिक जलाए १० हजार रुपैया जरिवाना



काठमाडौँ
काठमाडौँ महानगरभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु जलाएको खण्डमा कारवाही हुने भएको छ । वायु प्रदूषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाइएको  महानगरको वातावरण विभागले जनाएको छ ।
चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्नेक्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्दा वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले रोक लगाइएको विभागका प्रमुख सरिता राईले जानकारी दिएकी छिन् । उनका अनुसार उक्त व्यवस्था अटेर गरेमा प्रतिपटक रु १० हजार जरिवाना हुनेछ ।
“हरेक वर्ष जाडो महिनामा काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक बढ्ने गरेको छ । प्रदूषण बढ्नुमा यसरी खुला रूपमा बालिने प्लाष्टिकजन्य वस्तुको महत्त्वपूर्ण हिस्सा छ”, विभागका प्रमुख राईले भनिन्, “जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।”
वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दमखोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिलाई नकारात्मक असर गर्दछ । ती व्यक्तिका साथै सहरवासी सबैको स्वास्थ्य सुरक्षा र वातावरण जोगाउन पनि खुला रूपमा प्लाष्टिकजन्य वस्तु बालेर धुँवा उत्सर्जन घटाउने प्रयास महानगरले गरेको हो ।
प्रमुख राईका अनुसार महानगरले जारी गरेको प्रतिबन्धसम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, आइतबार  ५ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।