काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ दुई पाङ्ग्रे सवारी साधन (३३ मोटरसाइकल र १८ स्कुटर) आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
उक्त कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ले संयुक्त रूपमा सवारी साधन धनीलाई बुझाएका हुन्।
सवारी साधन खोजतलासको क्रममा केही सवारी साधनमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट प्रयोग भएको पाइएको थियो। ट्राफिक प्रहरीले गोंगबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभु लगायतका स्थानबाट ती सवारी साधन फेला पारेको थियो।
आज हस्तान्तरण गरिएका ५१ सवारी साधनसहित गत साउन यता ९१ सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ। चोरीमा संलग्न १९ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएर विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा कारबाहीका लागि पठाइएको जनाइएको छ।
सवारी साधन प्राप्त गरेका धनीहरूले खुशी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदी ले सवारी साधन चोरी तथा हराउने अवस्था कम गर्न ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक जस्ता सुरक्षा उपकरण जडान गर्न, र भीडभाड नहुने सुरक्षित स्थानमा सवारी पार्क गर्न अनुरोध गरेका छन्। सवारी हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको १०० मा फोन गरेर नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने बताइएको छ।








प्रतिक्रिया