काठमाडौं । बागमती नदी करिडोरलाई उज्यालो बनाइने बनाइने भएको छ। बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा बत्ती राखिने भएको हो। त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सिसीटिभी जडान गरिनेछ।
सहरी विकास मन्त्रालयअन्र्तगतको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी करिडोरको गोकर्ण–बल्खु क्षेत्रमा बढ्दै गएको फोहोरमैला व्यवस्थापन समस्या, अनधिकृत गतिविधि तथा सुरक्षा चुनौतीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न आधुनिक सिसीटिभी सर्भिलेन्स सिस्टम र हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम जडान गर्नेछ।
बत्ती र सिसीटिभी जडानका लागि समितिले निर्माण व्यवसायी छनोटका लागि टेन्डर आह्वान गरिसकेको छ । नदी एवं नदी किनारमा फोहोर फाले त्यसको निगरानी सिसीटिभीमार्फत निगरानी गरिनेछ।
१२० थान अत्याधुनिक प्रविधिका तापक्रम, धुलो तथा पानी प्रतिरोधी दिनरात दुवै समय काम गर्ने क्यामेरा जडान गरी सर्भर र मनिटरिङ युनिट काठमाडौं उपत्यकाको प्रहरी कार्यालयमा रहनेछ। अँध्यारा क्षेत्र उज्यालो बनाई सुरक्षित र व्यवस्थित वातावरण निर्माणका लागि ५६७ थान स्मार्ट सडक बत्ती,४८ थान फ्लड लाइट तथा ६ थान हाइमास्ट फ्लडलाइट जडान गरिनेछ।
सिसीटिभी तथा बत्ती जडानले निरन्तर चलिरहेको बागमती सरसफाइ महाअभियानलाई समेत टेवा पुग्नेछ। सिसीटिभी तथा बत्ती जडान भएपछि उक्त क्षेत्रको सुरक्षा, निगरानी, अपराधिक तथा अव्यवस्थित गतिविधिको रोकथाम र रात्रीकालीन उज्यालो व्यवस्था सुधारमार्फत समग्र वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य रहेको छ।








प्रतिक्रिया