२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरीमा सञ्चालित महालक्ष्मी दालमोठ उद्योगमा ‘सिल’



काठमाडौं । काठमाडौं चन्द्रागिरीमा सञ्चालित एक दालमोठ उद्योगमा चरम फोहोर र अखाद्य वस्तुको प्रयोग भएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगको उत्पादन तथा बिक्री वितरणमा पूर्ण बन्देज लगाएको छ।

विभागले आकस्मिक अनुगमनका क्रममा चन्द्रागिरी नगरपालिका–१२ स्थित ‘महालक्ष्मी दालमोठ उद्योग’ ले उत्पादन गर्ने खाद्य सामग्री गुणस्तरहीन रहेको र जनस्वास्थ्यमा गम्भीर खेलवाड भएको पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाएको हो।

विभागको अनुगमन टोलीले उद्योग परिसरबाट उत्पादन भई बिक्रीका लागि तयार राखिएका १०२ बोरा दालमोठ तत्कालका लागि रोक्का गरेको छ। अर्को व्यवस्था नभएसम्मका लागि उक्त परिमाणको दालमोठ उद्योगीकै जिम्मामा रहने गरी सिलबन्दी गरिएको र उद्योगबाट हुने सम्पूर्ण बिक्री वितरण कार्य ठप्प पारिएको विभागले जनाएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मापदण्ड विपरीत सञ्चालित उक्त उद्योगलाई विभागले तीन दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
अनुगमनका क्रममा उद्योगको भौतिक पूर्वाधार र सरसफाइको अवस्था अत्यन्त नाजुक भेटिएको छ। विभागका अनुसार उद्योगको बाह्य परिसरको सरसफाइ सन्तोषजनक छैन भने आन्तरिक प्रशोधन स्थलको अवस्था झनै भयावह छ।

खाद्य पदार्थ उत्पादन हुने ठाउँको भुइँ, भित्ता तथा छानो समेत खुला रहेको पाइएको छ। जसले गर्दा बाह्य धूलो र कीटाणुको संक्रमणको जोखिम उच्च देखिएको छ।

यस्तै, खाद्य वस्तु उत्पादनमा खटिने कामदारहरूको व्यक्तिगत सरसफाइ समेत सन्तोषजनक नरहेको र भण्डारण व्यवस्थापन पनि मापदण्ड विपरीत अव्यवस्थित तवरले गरिएको विभागको ठहर छ।

अनुगमन टोलीले उद्योगमा अखाद्य रङको प्रयोग भइरहेको समेत फेला पारेको छ। उद्योग परिसरमा ‘अजन्ता ब्रान्ड’ को फुड कलर बरामद भएको र उक्त रङ दालमोठ फ्राइ गर्नुपूर्व नै प्रयोग गर्ने गरिएको पाइएको हो।
खाद्य नियमावली अनुसार निश्चित मापदण्ड र विधि पूरा गरेर मात्र खाद्य रङ प्रयोग गर्न पाइने भए पनि यहाँ स्वास्थ्यका लागि हानिकारक हुने गरी रङको प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रकाशित मिति : १० मंसिर २०८२, मंगलबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।