काठमाडौँको टोखा नगरपालिकामा विकास निर्माण र सामाजिक काम उत्साहजनक रहेको जनाएको छ ।
नगरपालिकाका मेयर प्रकाश अधिकारीले आफ्नो पहिलोदेखि दोस्रो कार्यकालसम्ममा विकास निर्माण, स्वास्थ्य, शिक्षा आदि क्षेत्रमा थालिएका पहलले सकारात्मक परिणाम हासिल गरेको बताएका छन् । पहिलोपटक २०७४ सालमा आफू निर्वाचित हुनुअघि टोखाका हरेक सडक हिलाम्मे हुने गरेको उल्लेख गर्दै मेयर अधिकारीले हाल वडा नम्बर १ देखि ११ सम्म सडक स्तरोन्नति गरिएको बताएका छन् ।
मेयर अधिकारीले नगरपालिकाले सामुदायिक विद्यालयको अवस्था सुधार गरी विद्यार्थी र अभिभावकको आकर्षण बढाइएको बताए । कक्षा १० सम्मका विद्यार्थीका लागि नै दिवा खाजा खुवाउने गरिएको उनले बताएका छन् । मेयर अधिकारीका अनुसार स्वमूल्यायाङ्कनमा काठमाडौँ जिल्लाका पालिकामध्ये टोखा दोस्रो स्थानमा पर्न सफल भएको छ ।
सडक बत्तीको समस्या समाधान गर्दै अब घरघरमा डिजिटल बोर्ड जडान गरिने उनले बताए । पालिकाले ५० वर्ष उमेरमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गराउने र जटिल रोगीलाई सहयागे गर्ने गरेको छ । शिशु जन्मिनासाथ रु पाँच हजार रकम दिने नीति अवलम्बन गरिएको प्रमुख अधिकारीले बताएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले विगतको तुलनामा धेरै सकारात्मक परिवर्तन भएको उल्लेख गर्दै समुन्नत टोखा नगरको अवधारणाअनुसार काम भइरहेको जानकारी दिएका छन् ।








प्रतिक्रिया