काठमाडौं । काठमाडौँको सिनामंगलस्थित राजश्री सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ सोसाइटी लिमिटेडबाट रकम चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार चोरीमा संलग्न आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका घर भएका दीपक गजुरेल पक्राउ परेका हुन्। उनलाई मङ्सिर २६ गते रातोपुलस्थित एक होटलबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार मङ्सिर २४ गते मध्यराति सहकारीको झ्याल फुटाएर करिब पौने १ बजेतिर प्रवेश गरेका गजुरेलले करिब आधा घण्टामा चोरी गरेर फरार भएका थिए। उक्त घटना सिसिटिभी फुटेजमा कैद भएको छ। सहकारीका सञ्चालकले १६ लाख रुपैयाँ चोरी भएको दाबी गर्दै प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए।
पक्राउपछि गजुरेलबाट १० लाख ३५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा चोरीको रकम उनले ठमेलको एक होटलमा लुकाएर राखेको खुलेको छ। प्रहरीका अनुसार उनलाई खोज्दै जाँदा मङ्सिर २६ गते रातोपुलस्थित चेम्बर होटलमा भेटिएको थियो, जहाँ उनी प्रेमिकासँग भेटिरहेको अवस्थामा पक्राउ परेका थिए।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार गजुरेलले चोरीको रकम प्रेमिकालाई घुमाउन खर्च गर्ने अपराध प्रवृत्ति देखिएको छ। यसअघि पनि उनी पटक–पटक चोरीसम्बन्धी कसुरमा पक्राउ परिसकेका छन्।
एसपी भट्टराईका अनुसार गजुरेल यो पटकसहित २३ औँ पटक पक्राउ परेका हुन्। सहकारी चोरीसम्बन्धी कसुरमा मात्रै उनी यसअघि १९ पटक पक्राउ परेर अनुसन्धानमा परेका थिए भने लागुऔषध र अभद्र व्यवहार सम्बन्धी कसुरमा समेत उनी पटक–पटक प्रहरी हिरासतमा बसेका छन्।
हाल उनीविरुद्ध प्रहरी वृत्त गौशालाले चोरी सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया