काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरुमा शैक्षिक सत्र २०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्राप्त गरेका छन् । महानगरपालिकाले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्रवृत्तिमा ५ हजार ८९५ जनालाई, दलित छात्रवृत्तिमा १ हजार ३२२ जनालाई, अपाङ्ग र आवासीय छात्रवृत्ति ४५५ जनालाई यो अवसर प्राप्त भएको हो ।
यस्तै संस्थागत विद्यालयहरुमा कक्षा १ देखि १० सम्म १९ हजार ३०६ जना र कक्षा ११ र १२ मा ३ हजार ८०१ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेका हुन् । शिक्षा विभागले गएको वर्षको प्रगतिहरुका विषयमा जानकारी गराउने क्रममा यो विवरण उपलब्ध गराएको हो ।
यस वर्ष ३९ वटा विद्यालयहरुले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरे । कक्षा १ देखि १२ सम्मका ५६ हजार ३०१ जनालाई निःशुल्क पाठ्यपुस्तक प्राप्त गरे । ५८ हजार ७३९ जना विद्यार्थीले नियमित दिवा खाजा प्राप्त गरे । सेनिटरी प्याड प्रयोग गर्नु पर्ने उमेर समूहका १७ हजार ६८९ जना छात्राले निःशुल्क सेनिटरी प्याड प्राप्त गरे ।
शिक्षातर्फ यस वर्षका लागि ३ अरब २९ करोड ४७ लाख ७७ हजार रुपियाँ बजेट विनियोजन गरिएको थियो । यसको ५३.८ प्रतिशत अर्थात १ अरब ७७ करोड ३४ लाख ४२ हजार रुपैयाँ खर्च भयो ।
यसमा आन्तरिकतर्फको नियमित कार्यक्रममा १ अरब ४ करोड ८५ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख ५ हजार रुपैयाँ खर्च भयो ।
गरी खाने शिक्षा महानगरको इच्छा कार्यक्रमका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएकोमा ५ करोड १ लाख ६६ रुपियाँ अर्थात् ८.४ प्रतिशत खर्च भयो । शिक्षा क्षेत्रका स्वर्णिम योजनाका लागि ११ करोड १४ लाख रुपैयाँ विनियोजन भएकोमा ४ करोड ३२ लाख अर्थात् ३८.८ प्रतिशत खर्च भयो ।
संघीय सशर्त अनुदानबाट १ अरब ४२ करोड ३४ लाख ५० हजार रुपैयाँ प्राप्त भएकोमा यसको ९२.९ प्रतिशत अर्थात १ अरब ३२ करोड २२ लाख रुपैयाँ खर्च भयो ।







प्रतिक्रिया