६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा सुनका गरगहना चोरी तथा बिक्रीमा संलग्न दुई जना पक्राउ



काठमाडौं । काठमाडौं उपत्यकामा सुनका गरगहना चोरी तथा खरिद–बिक्रीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तारकेश्वर नगरपालिका–४ स्थित एक डेरा कोठाबाट सुनका गरगहना तथा धनमाल चोरी भएको घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

प्रहरीका अनुसार २०८२ साल कात्तिक २४ गते बिहान करिब ११:४५ बजे तारकेश्वर नगरपालिका–४ माछापुच्छ्रे टोलमा रहेको एक व्यक्तिको डेरा कोठाबाट सुनका गरगहना चोरी भएको थियो। घटनाको अनुसन्धानका क्रममा चोरी तथा चोरीका सुनका गरगहना खरिद–बिक्रीमा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा चोरीमा संलग्न अशोक क्षेत्री रहेका छन्। उनी धादिङको गजुरी गाउँपालिका स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कमा बसोबास गर्दै आएको खुलेको छ। २४ वर्षीय क्षेत्रीलाई २०८२ साल मंसिर २९ गते पक्राउ गरिएको हो।

त्यसैगरी चोरीका सुनका गरगहना खरिद–बिक्रीमा संलग्न रामकृष्ण बि.क. लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। रसुवाको नौकुण्डा नगरपालिका–१ स्थायी घर भएका ३६ वर्षीय बि.क. हाल काठमाडौं महानगरपालिका–१६ नयाँबजारमा बसोबास गर्दै आएका थिए। उनलाई २०८२ साल पुस ३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले अशोक क्षेत्रीको साथबाट विभिन्न मोबाइल फोन, फलामको छेनो, विदेशी मुद्रा लगायतका सामग्री बरामद गरेको छ। त्यस्तै रामकृष्ण बि.क.को सुनचाँदी पसलबाट विभिन्न तौलका सुनका गरगहना, चाँदीका पाउजु तथा पञ्चरत्नका गहना बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

हाल दुवै जनामाथि प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराई ले जानकारी दिएका छन्।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ३ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।