ललितपुर । ललितपुरमा बोरामा प्याक अवस्थामा शव भेटिएको घटनाको अनुसन्धानका क्रममा अर्का एक व्यक्तिको हत्या भएको खुलेको छ।
हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई रहेका छन्। उनको शव सोमबार भक्तपुर र ललितपुरको सिमानामा पर्ने सूर्यविनायक–७ को जंगलमा फेला परेको छ । यसअघि २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु को शव बोरामा प्याक गरिएको अवस्थामा भेटिएको थियो।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले देवराज ढुंगेललाई पक्राउ गरेको थियो। सोधपुछको क्रममा उनले जयराज अधिकारीको नाम लिएको जानकारी पाएपछि प्रहरी आज बिहान सिन्धुलीबाट जयराजलाई पनि पक्राउ गरेको छ।
पक्राउ परेका जयराज अधिकारीले पारुहाङ राईको हत्या आफूले गरेको स्वीकार गरेपछि प्रहरीले त्यसै स्थानबाट पारुहाङको शव फेला पारेको हो।
देवराज ढुंगेल र जयराज अधिकारीका अनुसार उनीहरुले गत मंसिर २४ गते केशवराज हायुको हत्या गरेका थिए। त्यसको भोलिपल्ट अर्थात मंसिर २५ गते पारुहाङ राईको हत्या गरेको पुष्टि भएको छ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार, दुवै आरोपितले हत्या गरेको स्वीकार गरेका छन् र यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ।







प्रतिक्रिया