काठमाडौं । देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन्। सोमबार सिंहदरबारमा जारी आसन्न प्रतिनिधिसभा निर्वाचनसम्बन्धी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार हाल प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या ११४ पुगेको छ। २०७९ सालको निर्वाचनमा ८७ दल सहभागी भएको स्मरण गराउँदै उनले दलको संख्या बढेकाले आगामी निर्वाचनमा प्रतिस्पर्धा थप चर्किने अनुमान गरिएको बताए।
भट्टराईले निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्री आयोगले पहिचान गरिसकेको जानकारी दिँदै तीमध्ये ३७ सामग्री जिल्लास्तरमै खरिद गरिने र बाँकी १४ सामग्री मात्र केन्द्रबाट उपलब्ध गराइने बताए। मतपेटिका र मसी पर्याप्त मौज्दातमा रहेकाले ती सामग्री खरिद गर्नुपर्ने अवस्था नरहेको पनि उनले स्पष्ट पारे।
पित्तलको स्वस्तिक छाप, स्ट्याम्प प्याड र मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँचीलगायत सामग्रीमा आवश्यक परे मात्र खरिद प्रक्रिया अघि बढाइएको उनले बताए। यसबाट स्रोतको बचत गर्दै मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्ने तयारी रहेको आयोगको भनाइ छ।
उनका अनुसार मतदाता नामावलीको अन्तिम सूची पुस १५ गते तयार हुनेछ। हालसम्म मतदाताको संख्या ५.६५ प्रतिशतले वृद्धि भएको छ। आयोगले निर्वाचन पर्यवेक्षणका लागि पहिलो चरणको अनुमति समेत दिइसकेको जनाएको छ।







प्रतिक्रिया