विसं २००७ को सशस्त्र क्रान्तिमा जनकपुर–उदयपुर कब्जा गर्ने मुक्ति सेनाका कमाण्डरका रूपमा उनको भूमिका इतिहासमा दर्ज छ । विसं २०१७ पुस १ गते राजा महेन्द्रको ‘कू’ पछि थापाथलीबाट बिपी कोइरालासँगै पक्राउ परेका भट्टराईले लगातार १० वर्ष जेल जीवन बिताएका थिए । जीवनभर गरेर १४ वर्षभन्दा बढी समय जेलमै बिताएका उहाँले निर्वासन कहिल्यै रोजेनन् ।
विसं २०५० मा स्नातकोत्तर अध्ययनका क्रममा आफूले भट्टराईको राजनीतिक जीवनीमा शोधपत्र तयार गरेको बताउनुहुन्छ प्राध्यापक होमराज दाहाल । अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र सम्भव छ भन्ने दृढ विश्वास शन्त नेताको राजनीतिक कर्मको मूल आधार थियो ।
जेलमुक्त भएको केही समयमै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घको स्थापना समारोह उद्घाटन गरेर विद्यार्थी आन्दोलनलाई ऊर्जा दिएका भट्टराईलाई २०३४ को पटना सम्मेलनपछि बिपी कोइरालाले स्वास्थ्य कारण देखाउँदै कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता ओमकारप्रसाद श्रेष्ठ भन्छन्, “बिपीको निधनपछि पनि करिब डेढ दशकसम्म किसुनजीले कार्यवाहक सभापतिकै रूपमा पार्टीको नेतृत्व गर्नुभयो, जनआन्दोलनका सभापति, २०४७ मा अन्तरिम प्रधानमन्त्री, २०४६ को जनआन्दोलन घोषणासभा, क्षेत्रपाटी सम्मेलनको सभापतित्व किसुनजीले नै गर्नुभएको थियो ।” आन्दोलन सफल भएपछि एक वर्षभित्र संविधान निर्माण र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक पूरा गरेर उहाँले सत्ता होइन दायित्व प्राथमिकतामा राख्ने उदाहरण प्रस्तुत गर्नुभएको उनको भनाइ छ ।
आफू प्रधानमन्त्री हुँदा गराएको २०४८ को निर्वाचनमा उनी आफैँ पराजित भए । विसं २०१५ मा गोर्खा र विसं २०५१ मा काठमाडौँ क्षेत्र नं. १ बाट पनि पराजय भोग्नुभयो । तर पराजयले पनि उहाँको राजनीतिक उचाइ घटेन, बरु शन्त नेताको छवि झन् प्रखर बनायो ।
भट्टराई अविवाहित रहनुभयो । प्रधानमन्त्रीबाट राजीनामा दिएर बाहिरिँदा छाता र कमण्डलु बोकेर हिँड्नु भएको उहाँको जीवनशैली राजनीतिमा दुर्लभ मानिन्छ । विसं २०४८ को निर्वाचनमा पराजित भएपछि बालुवाटार छोडेर छाता हातमै लिएर पैदल निस्किएको दृश्य आज पनि राजनीतिक नैतिकताको प्रतीक झैँ सम्झिन्छन् धेरैले ।
२०६७ फागुन २० गते राति ११ बजेर २६ मिनेटमा काठमाडौँको नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा उनको निधन भयो । फागुन २१ गते पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो ।
रासस







प्रतिक्रिया