काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले वडाका बालाजु क्षेत्रबाट भित्र जडान गरिएका ७७ वटा सिसिटिभी क्यामरालाई फाइवर इन्ट्रानेटमा जडान गरेको छ । नेपाल टेलिकमसँगको सहकार्यमा फाइबरबाट जडान गरिएका सिसिटिभी क्यामराका दृश्यहरू वडा कार्यालयमा राखिएको मोनिटरमा हेर्न मिल्छ ।
बुधबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, प्रवक्ता नविन मानन्धर र वडाध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले संयुक्त रूपमा सो प्रणालीको शुभारम्भ गरे । यसका लागि वडाले करिब १ करोड रूपैयाँ खर्च गरेको छ ।
कार्यक्रममा वडाध्यक्ष एवं संयोजक तिवारीले भने, ‘यस प्रकारको प्रणाली सम्भवतः नेपालमै पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो । यही प्रणालीलाई महानगरपालिकाभित्र सबैतिर विस्तार गर्दैछौं ।’
वडाको आवश्यकताका विषयमा कुरा गर्दै उनले अगाडि भने, ‘वडाको भौगोलिक क्षेत्रभित्रका लागि २ सय वटा क्यामरा आवश्यक छन् । चरणबद्ध रूपमा हामी यी क्यामरा जडान गर्नेछौं ।’ सुरक्षा, सहरी विकास र विकास व्यवस्थापनका लागि प्रविधिको दिगो पूर्वाधार निर्माण गर्ने तथा सुरक्षा निकायसँग सहकार्य गर्ने योजना रहेको उनको भनाइ छ ।
सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार सहरभित्रका सिसिटिभी क्यामराबाट प्राप्त दृश्यको निगरानी गर्न बालाजु बाइसधारा उद्यान क्षेत्रमा सर्भलेन्स रुम (निगरानी कक्ष) निर्माणका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको छ । प्रणाली विस्तारको प्रगतिका विषयमा कुरा गर्दै उनी भन्छन्, ‘वडा नम्बर ३० मा प्रणाली जडान भइसकेको छ । वडा नम्बर ३२ को बोलपत्र आह्वान हुने चरणमा छ । वडा नं. १४ को बोलपत्र आव्हान भइसकेको छ । वडा नं. ३ को बोलपत्र आह्वान हुने चरणमा छ । यसरी प्रणाली विकास भइसकेपछि तार चुँडिएर क्यामरा नचल्ने तथा काम नलाग्ने हुने, विगतको समस्या पूर्ण रूपमा समाधान हुनेछ । तारको गुजुल्टोले कुरूप सहरी सुन्दरतामा सुधार आउनेछ ।’
महानगरपालिकाको गौरव योजना ‘महानगरपालिकाले देख्छ’ कार्यक्रमका ५ वटा प्याकेज मूल्यांकन चरणमा छन् ।
सरकारले प्रदान गर्ने सेवा सरकारी निकायबाट लिने अभ्यासका कोणबाट यो सहकार्य सिकाइ योग्य छ । नेपाल टेलिकमका उपप्रबन्धक इञ्जिनियर निर्मलराज चटौत भन्छन्, ‘महानगरपालिकाले हरेक सिसिटिभी क्यामरालाई फाइबर सञ्जालमा जोडेर निगरानी कक्षमा लैजान हामीसँग सहकार्य गरेको छ । हामी इन्ट्रानेट लिंकमार्फत निगरानी कक्षमा क्यामराबाट कैद भएका दृश्य पुर्याउँछौं ।’
प्राइमरी नेटवर्क भूमिगत हुने भएकोले सहरमा तारको जञ्जाल नदेखिने, सेवामा समस्या न्यूनीकरण हुने, समस्यालाई तत्काल समाधान गर्न सकिने खालको हुने चटौतले जानकारी दिए ।
सूचना प्रविधि अधिकृत इञ्जिनियर माधव खनालका अनुसार क्यामराले अल्ट्रा एचडी (फोरके ३८४०×२१६०) क्वालिटीका दृश्य खिच्छ । एआईमा आधारित हरेक क्यामरामा ८ वटासम्म सेन्सर जोड्न मिल्छ । यी क्यामराहरू ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम (ओएनभिआइएफ) प्रोकोकलका हुन् ।
क्यामराका विशेषता बताउँदै खनाल भन्छन्, ‘बत्ती गए पनि यी क्यामरा चल्ने व्याकअप पावरको व्यवस्था गरिएको छ । पिटिजेड (स्वचालित रूपमा दायाँबायाँ घुम्ने, तलमाथि सर्ने र जुम इन तथा जुम आउट हुने) क्यामराले ५५० मिटरसम्म दूरीका दृश्यहरू स्पष्ट रूपमा खिच्न र कैद गर्न सक्छ । बुलेट क्यामराले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छ । क्यामराबाट सम्बन्धित अधिकारीलाई आवाजसहितको दृश्य, नोटिफिकेसन पठाउन सकिन्छ । इन्बिल्ट एआई फिचर भएका यी क्यामराले सवारी साधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस तथा सवारी साधन आवतजावतको गणना गर्न सक्छ । वातावरणको अवस्था देखाउन सक्छ । यी क्यामराहरू ८ मेगापिक्सेल र ४ मेगापिक्सेलका हुन् ।’
यी क्यामराबाट दृश्य मात्र नभइ सहरी अवस्था, चालचलन, आवतजावत, वातावरणलगायत पक्षको तथ्यांक पनि दिने भएकाले भविष्यमा तर्जुमा गरिने स्मार्ट सहरको नीति तथा कार्यक्रम र विनियोजन गरिने बजेटका लागि आधार दिन सक्ने उनले बताए ।







प्रतिक्रिया