काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अरूको कम्पनीको कागजात दुरुपयोग गरी अनलाइन भुक्तानी सेवा प्रदायक इसेवामार्फत शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका–७ का १९ वर्षीय क्रमिक उप्रेती रहेका छन्। प्रहरीले जनाएको अनुसार उप्रेतीले ‘वाइड–स्पेस इन्टरनेसनल प्रालि’को स्थायी लेखा नम्बर लगायत महत्त्वपूर्ण कागजातहरू अनधिकृत रूपमा प्रयोग गरेका थिए।
उनले ती कागजातको दुरुपयोग गरी इसेवा मर्चेन्ट वालेट र व्यक्तिगत इसेवा वालेट खोल्दै गैरकानुनी रूपमा आर्थिक कारोबार सञ्चालन गरेको उजुरी प्रहरीमा परेको थियो।
प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा उप्रेतीले खोलेको इ–सेवा मर्चेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६ सय ३ रुपैयाँ र व्यक्तिगत वालेटबाट ५६ लाख ३१ हजार ६ सय ३ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ। उनी सट्टेबाजीका लागि १ करोड १२ लाख रुपैयाँभन्दा बढीको अवैध कारोबारमा संलग्न रहेको प्रहरीको ठहर छ।
साथै, प्रहरीले उप्रेतीको साथबाट ल्यापटप, दुई थान मोबाइल, १६ थान एनसेल सिम, ३ थान नमस्ते सिम, एउटा स्मार्ट सिम, पेन ड्राइभ र मेमोरी कार्ड बरामद गरेको छ।
पक्राउ परेका उप्रेतीलाई बैंकिङ कसुर र सट्टेबाजीजन्य कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको छ।







प्रतिक्रिया