काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालस्थित त्रिशूली नदीमा डेढ वर्षअघि खसेको गणपति डिलक्स बस फेला परेको छ। आइतबार बिहान बसको केही भाग देखिएपछि प्रहरीले तीन दिन लगाएर उत्खनन गरेको थियो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उत्खनन गर्दा ‘गणपति डिलक्स’ लेखिएको भाग फेला परेको हो। सो स्थानमा अझै उत्खनन कार्य जारी रहेको उनले जानकारी दिएका छन्।
२०८१ असार २८ गते वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–०११ ख २४९५ नम्बरको गणपति बस लेदोसहितको पहिरोमा पुरिएर त्रिशूली नदीमा बेपत्ता भएको थियो।
दुवै बसमा ६५ जना यात्रु सवार थिए। तीमध्ये ३ जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना यात्रु बससँगै बेपत्ता भएका थिए। दुर्घटनापछि नारायणी नदीमा २४ जनाको शव फेला परेको थियो, जसमध्ये १९ जना यात्रुको भएको पुष्टि भएको थियो। अन्य ५ शवको पहिचान हुन सकेको थिएन। हालसम्म ४३ जना यात्रु अझै बेपत्ता छन्।
दुर्घटनामा सबैभन्दा बढी रौतहट जिल्लाका २७ जना, भारतका १०, पर्सा जिल्लाका १०, बाराका ६, सर्लाहीका ४, चितवनका २, भक्तपुरका १ र सिन्धुपालचोकका १ व्यक्ति बेपत्ता रहेका छन्। सरकारले बेपत्ताहरुलाई मृतक सरह राहत उपलब्ध गराएको छ।
दुर्घटनापछि खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोर टोली सक्रिय थिए। त्यस्तै भारतको राष्ट्रिय आपदा मोचन बल (एनडिआरएफ) को १२ सदस्यीय टोली उच्च प्रविधि प्रयोग गरी खोजीमा खटिएको थियो। यस क्रममा वाटरड्रोन (सोनार क्यामेरा), ड्रोन क्यामेरा, र्याफ्टिङ बोट, मोटरबोट, चुम्बक र फलामको हुक प्रयोग गरिएको थियो। एनडिआरएफले ल्याएको १९ किलो तौलको चुम्बक त्रिशूली नदीमा हराएको थियो।
भारतीय टोलीले घटना स्थल सिमलतालदेखि गाइघाटसम्मको करिब तीन किलोमिटर क्षेत्र शंकाको घेरामा राखेर खोजी गरेको थियो।







प्रतिक्रिया