१ माघ २०८२, बुधबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा लागुपदार्थ सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रणमा



काठमाडौं । यात्रुको सुरक्षामा गम्भीर खेलबाड गर्दै लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेका तीन जना बस चालक र एक जना ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। ‘ट्राफिक सप्ताह’ अन्तर्गत बुधबार काठमाडौंको सितापाइलामा गरिएको विशेष चेकिङका क्रममा उनीहरू पक्राउ परेका हुन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले दिउँसो १८ वटा सवारी साधनका चालकको परीक्षण गरेको थियो। परीक्षणका क्रममा तीन वटा यात्रुवाहक बस र एक भाडाको ट्याक्सी चालकले लागुपदार्थ सेवन गरेको पुष्टि भएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

पक्राउ परेका चालकहरूलाई थप कानुनी कारबाही र अनुसन्धानका लागि सम्बन्धित प्रहरी वृत्तमा पठाइएको छ। यात्रुवाहक सवारी साधन चलाउने जस्तो संवेदनशील पेसामा रहेका चालकले लागुपदार्थ सेवन गरी सवारी चलाउनु अत्यन्त जोखिमपूर्ण र दण्डनीय कार्य भएको ट्राफिक प्रहरीले जनाएको छ। यसले चालक मात्र नभई सवारीमा सवार दर्जनौँ यात्रुको ज्यान जोखिममा पर्ने भएकाले यस्ता चेकिङलाई निरन्तरता र तीव्रता दिइएको बताइएको छ।

ट्राफिक प्रहरीले सर्वसाधारण यात्रुहरूलाई पनि सचेत रहन आग्रह गरेको छ। आफू सवार सवारी साधनका चालकले लागुपदार्थ वा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ तथा प्रहरीको आपतकालीन नम्बर १०० मा जानकारी गराउन अनुरोध गरिएको छ।

प्रकाशित मिति : १ माघ २०८२, बुधबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।