ललितपुर । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा पाटन दरबार स्क्वायर, ललितपुरमा सोमबार ‘हाम्रो प्रहरी : नेपाल प्रहरी’ कार्यक्रम–२०८२ सम्पन्न भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरको आयोजनामा तथा ललितपुर महानगरपालिका वडा नम्बर १६ को सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले शान्ति, सुरक्षा र अमनचयन कायम राख्न प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने बताउँदै अपराधरहित समाज निर्माणका लागि नागरिक र प्रहरीबीचको सहकार्य अनिवार्य रहेको उल्लेख गरे ।
उनले कुनै पनि आपराधिक गतिविधिको सूचना प्रहरीलाई उपलब्ध गराई अपराधीलाई कानुनी दायरामा ल्याउन नागरिकको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए।आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत नागरिक–प्रहरी सहकार्यलाई अझ प्रभावकारी बनाइने उनको भनाइ थियो।
कार्यक्रमको समापन मन्तव्य ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले व्यक्त गरे भने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी दिए।
सो अवसरमा मदनकृष्ण श्रेष्ठ, किरण केसी, प्रमोद खरेल, दिपक बज्राचार्य, आस्था राउत, आनन्द कार्की, निशा देशार र यमनकृष्ण श्रेष्ठलगायत कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। साथै जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालय र कुटुम्ब ब्याण्डको संयुक्त ब्याण्ड डिस्प्ले, लागूऔषधविरुद्ध प्र्याङ्क स्टार एलिश राईको टोलीद्वारा नाटक, नेवा नृत्य, चर्या नृत्य तथा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।








प्रतिक्रिया