२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरबाट सासंद बन्न मनकामनाको दर्शन



 

भक्तपुरबाट सासंद बन्न केही युवाहरुले गोरखास्थित मनकामनाको दर्शन गरेका छन्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भक्तपुर क्षेत्र नं. २ का उम्मेदवारको आसन्न निर्वाचनमा विजय सुनिश्चित होस् भन्ने कामनासहित पार्टीका समर्थक तथा शुभेच्छुकहरूले गोरखास्थित प्रसिद्ध शक्तिपीठ मनकामना माईको दर्शन तथा पूजा–अर्चना गरेका छन्।

धार्मिक आस्था र राष्ट्रिय भावनासँग जोडिएको यस कार्यक्रममा राप्रपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा विभिन्न क्षेत्रका शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पूजा–अर्चनाका क्रममा देशमा शान्ति, स्थिरता, सुशासन र राष्ट्रिय एकताको कामना गरिएको सहभागीहरूले बताएका छन्।

मनकामना माईको दर्शनपछि सहभागी समर्थकहरूले राप्रपाले अघि सारेका मूल राजनीतिक एजेन्डाहरू—हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र अभिभावकीय राजसंस्थाको व्यवस्था—प्रति पूर्ण समर्थन रहेको स्पष्ट पारे। उनीहरूका अनुसार नेपालको मौलिक पहिचान, संस्कृति र परम्पराको संरक्षणका लागि यी एजेन्डा अपरिहार्य भइसकेका छन्।

भक्तपुर जिल्ला कार्यसमिति सदस्य सन्तोष सिलवालले नेपाल ऐतिहासिक रूपमा सनातन हिन्दू राष्ट्र रहेको स्मरण गराउँदै वर्तमान धर्मनिरपेक्ष व्यवस्थाले जनभावनालाई सम्बोधन गर्न नसकेको धारणा व्यक्त गरे। “बहुसंख्यक नेपाली जनताको आस्था र संस्कृतिलाई सम्मान गर्दै नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गरिनुपर्छ,” सिलवालको भनाइ थियो।

त्यसैगरी, हालको संघीय शासन प्रणाली असफल भइसकेको भन्दै राप्रपा मध्यपुर थिमि –३ का सचिवले संघीयता खारेज गर्नुपर्ने माग दोहो¥याए। संघीयताले राज्यको खर्च बढाएको, प्रशासनिक बोझ थपेको र भ्रष्टाचारलाई प्रश्रय दिएको उनीहरूको आरोप छ। “संघीयताले विकासभन्दा बढी विवाद जन्माएको छ,” एक सहभागीले भने, “अब बलियो केन्द्रिय शासन प्रणाली आवश्यक छ।”

समर्थकहरूले अभिभावकीय राजसंस्था राष्ट्रको एकता, स्थायित्व र राष्ट्रिय स्वाधीनताको प्रतीक भएको उल्लेख गर्दै राजसंस्थाको पुनःस्थापनाले देशलाई सही दिशामा लैजान सक्ने विश्वास व्यक्त गरे। उनीहरूका अनुसार दलगत राजनीतिभन्दा माथि रहने अभिभावकीय संस्था आजको आवश्यकता हो।

मनकामना माईको दर्शनलाई केवल धार्मिक कर्म मात्र नभई, राष्ट्र, धर्म र परम्पराप्रतिको प्रतिबद्धताको रूपमा लिइएको समर्थकहरूको भनाइ छ। आगामी निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ बाट राप्रपाका उम्मेदवारलाई विजयी गराउन आफूहरू संगठित र प्रतिबद्ध रहेको उनीहरूले बताएका छन्।

पार्टी स्रोतका अनुसार भक्तपुर क्षेत्र नं. २ मा राप्रपाको चुनावी माहोल क्रमशः सकारात्मक बन्दै गएको छ। युवादेखि वृद्धसम्म पार्टीका एजेन्डाप्रति आकर्षण बढ्दै गएको र जनसमर्थन मजबुत हुँदै गएको दाबी राप्रपाको छ।

समर्थकहरूले मनकामना माईसमक्ष राप्रपाको जितसँगै राष्ट्र, धर्म र परम्पराको संरक्षणको संकल्पसमेत व्यक्त गरेका छन्।

 

प्रकाशित मिति : २३ माघ २०८२, बिहिबार  १२ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।