चापागाँउ
ललितपुरको धापाखेलमा आजबाट स्वर्णिम श्रीमद् भागवत सप्ताह भक्ति अनुष्ठान सुरु गरिएको छ ।
धापाखेलस्थित सिभिल होम नजिकै रहेको ललितपुर महानगरको २३ नम्बर वडा कार्यालय परिसरमा वडाध्यक्ष जीवन महर्जनले दियोमा बत्ती बालेर समुद्घाटन गरेका छन् ।
ललितपुर महानगरपालिका वडा नं २३ अन्तर्गत टोल सुधार समिति, महिला समूह र विभिन्न संघसंस्थाहरू रहेको यज्ञ मूल समारोह समितिको आयोजनामा सुरु महायज्ञ आगामी वैशाख ३ गतेसम्म चल्नेछ ।

देशव्यापी १ सय ८ श्रीमद् भागवत सत्संकल्प अभियाकर्ता मुमुक्ष उद्वव शर्मा हुमागाईको संयोजन र कथाब्यास आचार्य ओमप्रकाश सुवेदीको मुखारबृन्दबाट संगीतमय कथावाचन भइरहेको छ । महायज्ञ शुभारम्भअघि बिहान यज्ञस्थलबाट सयौं संख्यामा सहभागीहरुको पञ्चैबाजा, धिमेबाजा र झाँकीसहित धापाखेलका विभिन्न बस्ती हुँदै नागदहसम्म कलश यात्रा सम्पन्न भएको थियो ।
विश्वशान्ति,पितृमोक्ष, र देशको उन्नतीको कामना गर्दै धापाखेल क्षेत्रमा जेष्ठ नागरिक दिवा केन्द्र स्थापनामाको लक्ष्यका साथ शुभारम्भ गरिएको सो अनुष्ठानबाट जम्मा भएको भेटीबाट जग्गा व्यवस्थापनपछि सेवा केन्द्र निर्माणको लक्ष्य रहेको संकल्पकर्ता हुमागाईले जानकारी दिएका छन् ।
अनुष्ठानमा हरेक दिन बिहान ७ बजे पूजा, ८ बजेदेखि पाठपारायण र १०स् ४५ बजेदेखि ५स् १५ सम्म कथावाचन हुनेछ । त्यसैगरी प्रत्येक दिन दिव्य झाँकी प्रदर्शनका साथै भक्ति संगीत हुने समितिका संयोजक देवकी शर्माले बताइन् । अनुष्ठानको समापनको दिन साँझ लक्ष्यदीप प्रज्वलन कार्यक्रम सामूहिक ब्रतबन्ध, विवाह, ग्रह शान्ति , तुलादान र १००८ शालिग्राम पूजा अर्चना परिक्रमा हुनेछ।
श्रीमद् भागवत एवं अन्य पुराणशास्त्र सुनेर आत्मिक शान्तिको महशुस गर्न ईच्छुकहरू कार्यक्रममा सहभागी हुन सकिने मुमुक्ष हुमागाईले बताएका छन् । अनुष्ठानबाट चढाइने भेटी, दान दक्षिणाबाट जम्मा भएको रकम जेष्ठ नागरिक दिवा केन्द्र स्थापनामा खर्चिने छ ।
सो अवसरमा वडा नं २३ का वडाअध्यक्ष जीवन महर्जनले वडावासी सबै मिलेर यो अनुष्ठानलाई सफल बनाउनुपर्ने खाँचो औल्याए ।








प्रतिक्रिया