काठमाडौं
चलचित्र र पर्यटनलाई एकापसमा जोड्दै अनगिन्ती कथा, कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यले आयोजना हुँदै आएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) को तेस्रो संस्करणअन्तर्गत अवार्ड समारोहका लागि आवेदन खुला गरिएको छ।
आयोजक समितिले विश्वभरका र विशेषगरी नेपाली चलचित्र क्षेत्रका उत्कृष्ट सिर्जनाहरूलाई सम्मान गर्न विभिन्न विधामा आधिकारिक रूपमा चलचित्र दर्ताको आह्वान गरेको हो।
आयोजकका अनुसार यस महोत्सवको पहिलो चरणका कार्यक्रमहरू हालै मात्र भव्यताका साथ सम्पन्न भएका छन्। कर्णाली प्रदेशको सुर्खेत र सल्यानस्थित कुपिण्डे दहमा आयोजना भएको उक्त पहिलो चरणको कार्यक्रममा विभिन्न विधाका प्रस्तुतिसहित १२ सयभन्दा बढीको सहभागिता रहेको थियो। पहिलो चरणको सफलतासँगै दोस्रो चरणमा हुने अवार्ड समारोहका लागि चलचित्रकर्मीहरूबाट आवेदन माग गरिएको हो।
महोत्सवमा प्रतिस्पर्धा गर्न इच्छुक निर्माण पक्षले आगामी १५ मे २०२६ सम्ममा आफ्ना चलचित्र दर्ता गराइसक्नुपर्नेछ। आयोजकले तोकेको योग्यता र सर्तअनुसार अवार्डका लागि आवेदन दिने चलचित्रहरू २०८२ साल वैशाख १ गतेदेखि २०८२ चैत्र मसान्तभित्र सार्वजनिक रूपमा प्रदर्शन भइसकेको हुनुपर्नेछ। उक्त तोकिएको समयसीमाभन्दा अगाडि वा पछाडि प्रदर्शन भएका चलचित्रहरूले यस संस्करणमा प्रतिस्पर्धा गर्न नपाउने आयोजकले स्पष्ट पारेको छ।
यस महोत्सवमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी कुल ८ विधामा अवार्ड प्रदान गरिनेछ। जसमा अन्तर्राष्ट्रियतर्फ उत्कृष्ट फिचर फिल्म र उत्कृष्ट सर्ट फिल्म विधा रहेका छन्। यसैगरी, राष्ट्रिय ९नेपाली० तर्फ उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट सर्ट फिल्म, उत्कृष्ट वृत्तचित्र, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट उदीयमान मेकर ९फिल्ममेकर० विधामा अवार्ड प्रदान गरिनेछ।
आवेदन दिन चाहने चलचित्रकर्मीले चलचित्रको विवरण र आवश्यक कागजातहरू महोत्सवको आधिकारिक इमेलमार्फत पठाउन सक्नेछन्। विस्तृत विवरणका लागि आयोजकले महोत्सवको आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ। महोत्सवका निर्देशक चक्र बहादुर चन्दले विश्वभरका उत्कृष्ट सिनेमा र कथाहरूलाई एउटै मञ्चमा ल्याउनु नै यस महोत्सवको मुख्य लक्ष्य रहेको बताएका छन्। यस वर्ष अझै उत्कृष्ट र सिर्जनशील चलचित्रहरूको सहभागिता रहनेमा उनले विश्वास व्यक्त गरेका छन्।








प्रतिक्रिया