११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौँ महानगरमा छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन




काठमाडौँ
काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन छ हजार बचतकर्ताले आवेदन गरेका छन् ।

सहकारी विभागले, बचत फिर्ता गरिदिने बारेको निवेदकहरुको सङ्ख्या बढ्दै जान थालेको जानकारी दिएको छ । वैशाख १७ देखि हालसम्म रकम फिर्ता गरिदिन माग गरेका छन् ।    

विभाग प्रमुख ध्रुवकुमार काफ्लेले दैनिक करिब ३० जनाले उजुरी गर्ने गरेका र धेरै निवेदक साना बचतकर्ता रहेको जानकारी दिएका छन् । साना बचतकर्ताले रु एक लाखदेखि रु पाँच लाखसम्म रकम जम्मा गरेका छन् । पछिल्लो समय महानगरले आएका उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको  बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।  

केही दिनअघि मात्रै महानगरले बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमार्फत ३४ जना बचतकर्ताको रकम फिर्ता गरिसकेको जनाएको छ । सो सहकारीले रु एक लाख ५० हजारसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता गरेको हो । 

विभागका अनुसार आगामी एक महिनाभित्र रु पाँच लाखसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको छ । साथै ठूला बचतकर्ताका हकमा ऋण असुली प्रक्रिया अघि बढाउँदै बचत फिर्ता गर्न समन्वय भइरहेको पनि प्रमुख काफ्लेले जानकारी दिएका छन् । सहकारी विभागले उजुरी दर्ता, सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने कार्य गर्दै आएको छ ।

सहमति हुन नसकेमा आवश्यक कारबाहीका लागि सिफारिस गरिने विभागले जनाएको छ । हाल कामपामा एक हजार ९१२ सहकारी रहेको छ । जम्मा सहकारी सङ्ख्यमा ५० प्रतिशतले मात्रै नियमित रुपमा वार्षिक साधारणसभा गरेको प्रतिवेदन पेस गर्ने गरेका छन् । यसरी दर्ता भएका तर नियमित रुपमा साधारणसभा नगर्ने सहकारीलाई कामपाले कानुनी रुपमा कारबाही प्रक्रिया अघि बढाउने भएको छ । 

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ६ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।