ललितपुर
राजधानी नजिकै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै पनि भरपर्दो सञ्चार सुविधाबाट वञ्चित छन् । सञ्चार सेवाको कमजोर पहुँचका कारण स्थानीय बासिन्दाले दैनिक जीवनदेखि आकस्मिक अवस्थामा समेत विभिन्न समस्या भोग्दै आएका छन् ।
महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीका अनुसार गाउँपालिकाले सञ्चार सेवा विस्तारका लागि पटक–पटक सम्बन्धित निकाय तथा नेपाल दूरसञ्चार प्राधिकरणसँग पहल गरे पनि अपेक्षित सुनुवाइ हुनसकेको छैन । अध्यक्ष केसीले गाउँपालिकाका अधिकांश क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताएका छन् ।
महाङ्काल गाउँपालिकामा साविकका बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङ गाविस समेटेर छवटा वडा कायम गरिएका छन् । यी वडाका धेरैजसो बस्तीमा मोबाइल नेटवर्क कमजोर रहेको स्थानीयको गुनासो छ । कतिपय स्थानमा घरभित्र बसेर फोन गर्न वा इन्टरनेट चलाउन नसकिने अवस्था रहेको छ भने नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने बाध्यता अझै कायम छ ।
अध्यक्ष केसीले स्थानीयवासीले सञ्चार समस्याबारे निरन्तर गुनासो गर्ने गरेको बताउँदै वर्षौँदेखि समस्या समाधानका लागि प्रयास गरिए पनि सम्बन्धित निकायको पर्याप्त ध्यान नपुगेको बताए । उनका अनुसार कतिपय गाउँमा रातिको समयमा समेत घरबाहिर निस्केर नेटवर्क खोज्दै फोन गर्नुपर्ने अवस्था छ ।
गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले गाउँपालिकाको केन्द्र गोटिखेलस्थित कार्यालय परिसरमै सञ्चार सेवाको समस्या रहेको बताइन् । उनले फाइबर नेट जडान तथा सबै वडामा गुणस्तरीय सञ्चार सेवा विस्तारका लागि विभिन्न निकायमा पटकपटक निवेदन दिइएको भए पनि हालसम्म समाधान ननिस्किएको गुनासो गरिन् ।
उपाध्यक्ष गोलेका अनुसार सञ्चार सेवाको अभावले विशेषगरी विपद् व्यवस्थापन र स्वास्थ्य सेवामा गम्भीर असर परेको छ । वर्षायाममा बाढीपहिराको जोखिम बढ्ने भएकाले समयमै सूचना आदानप्रदान हुन नसक्दा स्थानीय बासिन्दा थप जोखिममा पर्ने गरेका छन् । बिरामीको अवस्था गम्भीर हुँदा एम्बुलेन्स वा सम्बन्धित निकायसँग तत्काल सम्पर्क गर्न कठिन हुने समस्या पनि रहेको उनले भनाई छ।
सञ्चार सेवा कमजोर हुँदा गाउँपालिकाको प्रशासनिक कामकाजमा पनि असर परेको छ । विद्युत् अवरुद्ध भएको अवस्थामा आवश्यक कागजात तथा सिफारिस सम्बन्धित निकायमा पठाउन समस्या हुने गरेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । डिजिटल प्रविधिमा आधारित सरकारी सेवाको विस्तार भइरहेका बेला आधारभूत सञ्चार पूर्वाधारको अभावले सेवा प्रवाहमा चुनौती थपिएको छ ।
प्राकृतिक स्रोत, धार्मिक तथा सामाजिक महत्वका क्षेत्रहरूले सम्पन्न महाङ्काल गाउँपालिकाको मुख्य आर्थिक आधार कृषि व्यवसाय हो । स्थानीय आम्दानीको अर्को प्रमुख स्रोत वैदेशिक रोजगारी रहेको छ । पछिल्ला वर्षहरूमा आधुनिक जीवनशैलीतर्फ आकर्षण बढ्दै गए पनि सञ्चार पूर्वाधारको कमजोर अवस्थाले विकासका सम्भावनामा असर पारेको स्थानीयवासी बताउँछन् ।
दक्षिण ललितपुरका ग्रामीण क्षेत्रमा सञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखी आवश्यक टावर, फाइबर नेटवर्क तथा अन्य प्रविधि जडानका लागि सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने स्थानीय जनप्रतिनिधिहरूको माग छ ।








प्रतिक्रिया