१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


भारी वर्षाको पूर्वानुमान




भद्रपुर
जल तथा मौसम विज्ञान विभागले यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मनसुनी गतिविधि बढेर मेघगर्जन र चट्याङसहित ठूलो वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका सर्वसाधारणलाई सचेत रहन विशेष आग्रह गरेको छ । प्रशासनले अकस्मात बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न, खोला–खहरे नतर्न र सुरक्षित स्थानबारे पूर्वजानकारी लिन अनुरोध गरेको छ ।

जिल्लाका मुख्य नदीहरू कनकाई, बिरिङ, रतुवा, मेची, मावा र निन्दा नदी आसपासका क्षेत्रहरू बाढीबाट बढी प्रभावित हुने गरेका छन् । जिल्लाका १५ पालिकामध्ये दक्षिणी भेगका गौरीगञ्ज, कचनकवल, बाह्रदशी, झापा, कमल, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढी र डुबानको उच्च जोखिममा रहेका छन् ।

https://www.youtube.com/@lalitkhabar

सम्भावित विपद्को सामना गर्न र जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहका संयन्त्रहरूलाई राहत सामग्रीसहित तयारी अवस्थामा राखिएको छ । विपद् व्यवस्थापन र प्रतिकार्यको तयारीबारे जानकारी दिँदै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भन्नुभयो, “जिल्ला विपद् व्यवस्थापन समितिले एकीकृत विपद् प्रतिकार्य योजना नै बनाएर पूर्वतयारी अवस्थामा रहेका छौँ । जिल्लामा धेरै प्रकारका विपद्को सम्भावना भए तापनि प्राथमिकताका आधारमा पहिलो नम्बरमा बाढी प्रकोप नै रहेको छ । त्यसैले जनधनको क्षति हुन नदिन हामीले सबै प्रकारका उपाय अवलम्बन गर्ने तयारी गरेका छौँ । प्रहरी, सेना, रेडक्रस र स्थानीय पालिका प्रमुखहरूसँग निरन्तर समन्वय भइरहेको छ ।”

झापामा बर्सेनि आउने बाढी र त्यसले पार्ने मानवीय सङ्कटलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटीले यस वर्ष तल्लो तटीय क्षेत्रमा विशेष पूर्वतयारी र खाद्यान्न भण्डारणको व्यवस्था मिलाएको छ । यस सम्बन्धमा जानकारी दिँदै नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले भने, “रेडक्रसको आँकडाअनुसार जिल्लाका आठ हजारभन्दा बढी घरधुरी बाढीको अति उच्च जोखिममा छन् । विगतका वर्षहरूमा हामीले ठूलो मानवीय क्षति ब्यहोर्नु परेकाले यस पटक पूर्वसूचना प्रणाली र स्थानीय तहको सक्रियतामा विशेष जोड दिएका छौँ । हाम्रा १२० जनाभन्दा बढी स्वयंसेवक र प्राथमिक उपचार टोली खोज तथा उद्धार सामग्रीसहित जिल्लाभर तयारी अवस्थामा छन् । आकस्मिक अवस्थाका लागि जिल्लाका सात स्थानमा खाद्यान्नलगायतका राहत सामग्री भण्डारण गरेर राखिएको छ । स्थानीय तह र सुरक्षा निकायसँगको सहकार्यमा सुरक्षित आश्रयस्थल र राहत सामग्रीको व्यवस्थापन चुस्त बनाएका छौँ ।”

यसैबीच, समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि र उद्धार कार्यलाई प्रभावकारी बनाउन कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालय र सशस्त्र प्रहरी बलको आयोजनामा झापामा विशेष तालिम सम्पन्न भएको छ । यही असार ९ गतेदेखि सञ्चालित उक्त तालिममा जिल्लाका भद्रपुर, विर्तामोड, अर्जुनधारा, मेचीनगर र कनकाई गरी पाँच वटा नगरपालिकाका २० नगर प्रहरीहरूलाई समुदायस्तरमा विपद् व्यवस्थापन र उद्धारका लागि दक्ष बनाइएको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १२ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।