२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सिड्नी चलचित्र ‘मालती मंगले’को रेड कार्पेट प्रिमियरमा दर्शक खचाखच



अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्ड प्यालेस ओभनमा नेपाली चलचित्र ‘मालती मंगले’ को रेड कार्पेट प्रिमियर अत्यधिक सफलताका साथ सम्पन्न भएको निर्माता तथा गायक रामकृष्ण ढकालले बताएका छन्। ढकालको उपस्थितिमा आयोजित भीआईपी डिनर शोमा दर्शकको अनपेक्षित भिड उर्लियो। दुई सय सिटको व्यवस्थापन गरिएको हलमा तीन सयभन्दा बढी दर्शक पुगेपछि कार्यक्रम हाउसफुल मात्र भएन, ओभरफ्लो नै भयो।

सिड्नीमा रहेका प्रतिष्ठित नेपालीहरूको बाक्लो उपस्थिति रहेको प्रिमियरमा दर्शकले सिनेमाको कथावस्तु र प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन्। विशेषगरी कलाकारहरू वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, शकु शाह, प्रकाश घिमिरे लगायतको जीवन्त अभिनयले सबैको मन जितेको छ।

https://www.youtube.com/@lalitkhabar

दर्शकको उत्साहजनक प्रतिक्रियाबाट हौसिएका निर्माता ढकालले भने, ‘मालती कार्यक्रम सोचेभन्दा धेरै सफल भयो। हामी सबै आयोजक र निर्माण टिम एकदमै उत्साहित भएका छौँ।’ उनले कार्यक्रम भव्य बनाउन भूमिका खेल्ने आयोजक माउन्ट पुमोरीको टिम, सुबास थापा, संयोजक शोभित बस्नेत, प्रायोजकहरू र आफ्ना सह निर्माताहरूलाई विशेष धन्यवाद व्यक्त गरे।

चलचित्र प्रदर्शनपछि सुरु भएको सांगीतिक माहोलले उपस्थित दर्शकलाई थप सामीप्यता दिलायो। गायक ढकालले आफ्ना ८ वटा लोकप्रिय गीत गाएर दर्शकलाई मन्त्रमुग्ध बनाए। उनलाई ‘भ्वाइस अफ नेपाल’बाट उदाएकी र हाल अस्ट्रेलियामा अध्ययनरत गायिका अञ्जली हमालले ४ वटा युगल गीतमा साथ दिएकी थिइन्।

सिड्नी प्रिमियर मालती मंगलेको विश्वव्यापी रिलिज अभियानकै एउटा महत्त्वपूर्ण हिस्सा हो। विश्व बजारमा सिनेमा पुर्‍याउने उद्देश्यले ढकालले यसअघि अमेरिकाका विभिन्न सहर र क्यानडामा सिनेमा प्रदर्शनसँगै सांगीतिक कार्यक्रम सम्पन्न गरिसकेका छन्। अब यो अभियान युरोपलगायत अन्य देशहरूमा पुग्नेछ।

रानी फिल्म्स र युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्मित यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। कथा निर्देशक स्वयंकै हो भने पटकथा तथा संवादमा उनलाई संयोग गुरागाईँले सघाएका छन्। सिनेमामा सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको पनि अभिनय छ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह९निर्माता छन्। महेश पौडेलले खिचेको चलचित्रलाई रोमी मोजेजले सम्पादन र कृष्ण भण्डारीले कलर गरेका हुन्। यसमा सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको साउन्ड मिक्सिङ सुन्न सकिन्छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।