३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


चलचित्र ‘बेहुली’ समिक्षा : निर्देशकीय कमजोरीले हिरो ‘कुलव्याई’ निरिह र भिलेन ‘सुशान्त’ बलियो




अशोक दुलाल


नेपालीमा एउटा चल्तीको उखान छ । ‘खुकुरीभन्दा कर्द लाग्ने’ । चलचित्र बेहुली हेरिरहँदा हिरो पात्र कुलव्याई(दृश्य)भन्दा भिलेन सुशान्त कार्की (राधव)ले गज्जव देखिन्छन्, ठ्याक्कै खुकुरीभन्दा कर्दको काम लागेको जस्तै । कलाकार सुशान्त कार्की चलचित्र बेहुलीमार्फत सानदार कमव्याक गरेका छन् । चलचित्रमा पारसविक्रम ठकुरीलाई ओझेल पार्ने गरेर ।

चलचित्रभर निर्देशक सशान कडेँलको कमजोरी नै कमजोरी भेटिन्छ । उनले चलचित्रको कथ्य शैली चलचित्र पिताम्बरबाट सुटुक्क सापटी लिएका छन् । चलचित्रमा फेमली ड्रामा, क्राइम र कमेडी मिसाइएको छ । जसले स्वाद दिदैन ।
क्राइम थ्रिलर दिमाग हल्लाउदैन । लभ स्टोरीले दिल भरिदैन । न त कमेडीले खुलेर हाँस्न नै पाइन्छ । पादेर र औला ठड्याएर हँसाउने सस्तो काइदा प्रयोग गरिएको छ ।

https://www.youtube.com/@lalitkhabar

उनको निर्देशकीय शैलीमा नयाँपन छैन । अपवादबाहेक अन्य चलचित्रका पर्दामा हामीले देख्दै आएका पात्रहरु बटुलेर निर्देशक कडँेलले संवाद बोलाएका छन् । अभिनय र दृश्यहरुलाई नयाँ देखाउन मेहनत फिटिक्कै छैन । क्यामेराको कला र प्रविधिको प्रयोग पनि दुरुस्त छैन । कलाकारहरुको क्षमता देखाउन कडेँलले ज्यादा मेहनत गर्न सक्थे । जुन चलचित्र हेरिहँदा खड्किन्छ ।

लेखक माधव कार्कीले पनि चलचित्रका भिलेन पात्रको उपस्थिती र श्रृजित परिस्थितीलाई बलियो बनाएर लेखेका छन् । निर्देशक सुसान कँडेलले यसलाई थप मलजल गरेका छन् । कलाकार कार्कीले दमदार अभिनयमार्फत सुनमा सुगन्ध भरेकै छन् ।
चलचित्रको पहिलो सिनदेखि नै भिलेन पात्र राधव (सुशान्त) हावि छन् । उनको संवाद, अभिनय र उपस्थिती बलियो छ ।

जीवनमा बेहुली बन्न सबैलाई रहर हुन्छ । सझिएर बेहुली बनेर आफ्नो घर जाँनु जीवनकै अस्मरणीय क्षण हो । तर चलचित्र बेहुलीमा दिव्या पात्रले बेहुली बन्दा भोगेको अनौंठो अनुभवलाई पर्दामा उतारिएको छ । चलचित्रमा ‘दृश्य’ पात्रमार्फत कुलव्याई र दिव्याको फरक बाध्यताले चलचित्रको सुवाआतबाट रोचक मोड दिन्छ । चलचित्र हेरुञ्जेल रोचक मोडलहरुले दर्शकलाई रिङ्याउछ । चलचित्रको कथा सलल बग्दैन । नयाँ नयाँ मोड लिन्छ । ठाँउ ठाँउमा ठोकिन्छ अनि मश्तिष्क हल्लाउछ ।
चलचित्र बेहुलीको रोचक पक्ष कथा र यसले श्रृजना गरेको सस्पेन्स थ्रिल हो । चलचित्र हेरिरहँदा २ घण्टा ५० मिनेट दर्शकको आँखा टक्क पर्दामा अडिन्छ । चलचित्रका कलाकार दिव्या र कुलव्याईले भन्दा सन्तोष बानियाँ‘गेडी’,सुशान्त कार्की ‘राधव’,पदम तामाङ ‘राधे’ले थुप्रै मनोरञ्जन दिन्छन् । लेखक माधव शर्माले कथा लेख्न टेवुलमा धेरै समय घोरिएको अनुमान गर्न सकिन्छ ।

गुनासो
चलचित्रमा जस्तो खाले परिस्थिती जन्माएको छ त्यो अलि परम्परागत छ । फ्रिक्सन स्टोरीमा आधारित चलचित्र बेहुलीका अतिपय दृश्यहरुले मानोरञ्जन मात्रै दिन्छ, शिक्षा र उत्प्रेरणा दिदैन । धेरै दृश्यहरुले पुराना चलचित्रको स्वाद भेटिन्छ । जुन मिठो लाग्दैन । अभिनेता कुलव्याई नाच्न जान्ने अभिनेता भएपनि एक्सनको सवालमा कमजोर दरिएका छन् । कतिपय ठाँउमा प्रकाश संयोजनमा कमजोरी भेटिन्छ । स्क्रिनप्ले तुलनात्मक रुपमा कमजोर छ । चलचित्रको क्याइमेक्सको दृश्यले दर्शकको मन कुडिन्छ ।
चलचित्रमा बेहुली भगाएपछि विभिन्न लफडा दृश्य र राधेले भोग्छन् तर प्रेमिकाको विवाह र त्यो तनावको पाटोलाई लुकाइएको छ ।

अभिनय
पारस विक्रम ठकुरी (कुलव्याई)
सामाजिक सञ्जालमा लामो समय राज गरेका टिकटकर पारस बम ठकुरी (कुलव्याई)को ठूलो पर्दामा दिएको दोश्रो परिक्षामा उर्तिण भएका छन् । तर उनको अभिनय शिल्पले ए प्लस ल्याउदैन ।
एउटा सिधासाधा सिक्कीमको केटो ‘दृश्य’ (कुलव्याई)ले काठमाडौं शहरमा भोगेको कथालाई चलचित्रमा उतारेका छन् । होस्टल ३ मा कुल व्याईले निभाएको सत्य पात्र भन्दा दृश्य पात्रमा साख फरक देखिन्न । त्यसैले उनको अभिनयशिल्पमा नयाँपन छैन । उनले हेयरस्टाइल र सरिरलाई भने फिट राखेका छन् । संवाद र शरिरको हाउभाउमा पनि भिन्नता भेटिन्न ।

दिव्या रायमाझी
अभिनेत्री दिव्याले परम्परागत अभिनयशैलीलाई दुरुस्तै पर्दामा उतारेकी छन् । उनले दिव्या पात्रलाई न्याय दिन हरसम्भव कोसिस भने गरेकी छन् । उनको अभिनयमा जादु भने भेटिन्न । आफूलाई निर्खान दिव्याको थप मेहनत जरुरी छ । यद्यपी उनको अभिनय कलालाई पर्दामा उतार्न निर्देशकको भूमिका कम भएको पनि हुन सक्छ । उनको सुन्दरताले पर्दालाई थप उज्यालो भने बनाएको छ ।

सन्तोष बानियाँ‘गेडी’
चलचित्र बेहुलीमा सन्तोष बानियाँ‘गेडी’ले राम्रो काम गरेका छन् । उनको मेहनत पर्दामा प्रष्ट देखिन्छ । उनको अनुहारको हाउभाउ र अभिनयशैली पनि फरक देखिन्छ । ‘गेडी’ बाबाको भेष र लिंगेश्वर धामको यात्रादेखि खुङखार गुण्डा र पात्रमा आएको वदलावलाई सरल तरिकाबाट उनले पर्दामा उतारेका छन् । पात्रको चरित्रमा भिज्न सन्तोष खप्पिस रहेछन् भन्ने उनको बहुआयामिक क्षमताबाट देखिन्छ ।

सुशान्त कार्की ‘राधव’
बेहुलीमा अभिनेता कुलव्याईको अभिनयलाई छाँयामा कसैले पारेको छ भने त्यो सुशान्त कार्की हो । राधव पात्र चलचित्रमा हिरो दृश्यभन्दा सशक्त देखिएको छ । सानो र दुव्लो कदका राधवको गर्जन पर्दामा गज्जव देखिएको छ । हडी र घमण्डी प्रहरी अफिसर(एसपि)को भूमिकालाई कार्कीले बलियो ढंगले निभाएका छन् ।
पदम तामाङ ‘राधे’
होस्टल ३ मार्फत कुलव्याईसँगै उदाएका अर्का कलाकार पदम तामाङ ‘राधे’ पनि बेहुलीमा हावी छन् । मध्यान्तरसम्म ‘राधे’को कमेडीले पर्याप्त ठाँउ पाएको छ । बोल्दा ठाँउको ठाँउ हँसाउने खुबी भएका कलाकार तामाङको क्षमतालाई निर्देशक कँडेलले भरपु्र उपभोग गरेका छन् । चलचित्रमा कर्मा लामा, सरिता गिरी, कमल देवकोटा र कृष्णभक्त महर्जनको भूमिका पनि सम्झनायोग्य छ ।

प्रविधि
चलचित्र वेहुली प्रविधिको प्रयोगको हिसावले बलियो छैन । चलचित्रमा नरेन्द्र मैनाली र रवि रोक्का क्यामेरा कला नौलो लाग्दैन । चलचित्रका धेरै दृश्यहरुमा भरत नेपालको टिमले प्रकाश संयोजन गरेको चित्त बुझ्दैन । रोसन श्रेष्ठले कुलव्याईलाई एक्सनको पाटोमा अभ्यस्त बनाउन मेहनत गरेका छैनन् । एलेक्स बास्तोलाले छनौट गरेको कस्टुम पात्रहरुलाई मिल्दो लाग्दैन । बनिस शाह र विवेक दाहालले चलचित्र सम्पादनका लागि पर्याप्त समय नपाएर चलचित्र छिटो छिटो हतारमा सम्पादन गरेको जस्तो देखिन्छ । समिर मियाको भिएसएस अनुभव हुने ठाँउ भेटिन्न ।

अन्तमा,
नेपाली चलचित्र क्षेत्रका कलाकारहरु क्षमतावान् छन् । डेव्यु चलचित्रमै तहल्का मच्चाउने कलाकारहरुको उदाय हुनु यसको बलियो उदाहरण हो । चलचित्रहरुमा मुख्य पात्रहरु कमजोर र सहायक पात्रहरु हाबी भएको देखिन्छ ।
बर्षैसम्म चलचित्र क्षेत्रमा काम गरेका निर्देशकहरुको यस्तो काम पर्दामा हेर्दा फिस्स लाग्छ । चलचित्र बेहुलीमा मुख्य भूमिकामा रहेका पारसविक्रम ठकुरी कुलव्याईको पात्र तुलनात्मक रुपमा कमजोर देखिएको छ । सुशान्त सन्तोष र पदम हावि छन् । चलचित्र हेरिरहँदा हिरो हिरोजस्तो देखिन्न । अरु पात्रहरु हिरो बनेर सल्वलाएका छन् । यो निर्देशक ससान कँडेलको कमजोरी हो ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  १२ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।