२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पशुपतिनाथमा छायाँ दर्शन पर्व मनाइयो



पर्वको अवसरमा पशुपतिनाथको शिव लिङ्गको पूजा गर्ने र नयाँ मुकुट पहिराउने चलन छ
काठमाडौँ 
पशुपतिनाथको छायाँ दर्शन पर्व मङ्गलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ । पर्वको अवसरमा पशुपतिनाथको शिव लिङ्गको पूजा गर्ने र नयाँ मुकुट पहिराउने चलन छ ।
प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थाली हिउँद ओरालो लाग्दा यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथ मन्दिरमा विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिव लिङ्गको छायाँ दर्शन गराउने चलन छ ।
पशुपति क्षेत्र विकास कोषको आयोजनामा स्थानीय नेवा समुदायका भक्तजनले यसरी पूजा अर्चना सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिव लिङ्गको छाया प्रतिविम्बित गराई त्यस स्थानमा आउने भक्तजन तथा तीर्थयात्रीलाई दर्शनको प्रबन्ध मिलाइन्छ ।
यस दिन पशुपतिमा विशेष रहन्छ । आराध्यदेवको प्रतिमाको छाया हेर्न भक्तजनको घुइँचो लाग्छ । यसरी छायाँ दिउँसोदेखि साँझको आरती अघिसम्म हेर्न पाइन्छ । हजारौँ भक्तजनले लाम लागेर पशुपतिनाथको छायाँ दर्शन गरेको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले जानकारी दिएका छन् ।
सनातन सभ्यताको केन्द्रबिन्दुका रुपमा इतिहास बोकेको विश्वभरिका हिन्दूको आराध्यदेव पशुपतिनाथमा छायाँ दर्शन हेर्न हजारौँ भक्तजन भेला भएका थिए ।
पशुपति क्षेत्र देवपतन, जयबागेश्वरी, गौरीघाट, चाबहिल, कुटुम्वाहल, सिफल, गौशाला, पिङ्गलास्थान र श्लेष्मान्तक वन आसपासको विशाल क्षेत्रमा फैलिएको छ । सनातनदेखि पवित्र वाग्मती नदीको प्रवाहले सिञ्चित पाशुपत क्षेत्रभित्र करिब चार सय ९२ साना ठूला विभिन्न शैलीका मन्दिर, सत्तल, ढुङ्गेधारा, देवालय, मठलगायत करिब एक हजार शिव लिङ्ग रहेका छन् ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ७ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।